काठमाडौं,३२ जेठ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १६ बुँदे सहमतिमा हुनुअघि कांग्रेसलाई राष्ट्रपति पद दिने निर्णय भएको खुलासा गरेका छन् । क्रान्तिकारी पत्रकार सङ्घ, बाँकेद्वारा कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले संविधान घोषणापछि सरकार फेरिने हुँदा नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै महत्वपूर्ण पद गुमाउनु पर्ने अवस्था देखिएपछि राष्ट्रपति पद कांग्रेसलाई नै दिने अन्तारिक समझदारी भएको खुलासा गरेका हुन् । प्रचण्डले भने, ‘राष्ट्रपति र प्रधानमन्त्रीमा एमाओवादीको दाबी छैन।’ तर, प्रचण्डले संविधान निर्माणपछि दुई तिहाई बहुमत ल्याएर मात्र आफ्नो पार्टीले ठूलो पद लिने समेत बताए । प्रचण्डले प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे समझदारीले नयाँ राजनीतिक परिस्थिति सिर्जना गरेको बताए । उनले भने, ‘यो समझदारीपछि जनतामा नयाँ विश्वास पलाएको छ, राष्ट्रिय राजनीति स्थिरतातर्फ अग्रसर भएको छ।
अध्यक्ष दाहालले आठ प्रदेशमा भएको समझदारी राजनीतिक शक्ति सन्तुलनको उपज भएको प्रष्ट पार्दै यसमा असन्तुष्टि जनाउनेहरुले समझदारीको वास्तविकता नबुझेको बताए। यो समझदारीलाई सत्ता समीकरणका रुपमा अपव्याख्या गर्न नहुने बताउँदै उनले भने- ‘तर, कुनै पनि राजनीतिक समीकरण स्थायी हुँदैन परिस्थितिअनुसार फेरबदल हुन्छ।’ ‘आफ्नो दलको सैद्धान्तिक अडान त पहिचानसहितको १० प्रदेश हो, संसदीय व्यवस्था नमान्ने नै हो, प्रत्यक्ष राष्ट्रपति निर्वाचन नै हो, तर मुलुकको वर्तमान राजनीतिक विशिष्ट परिस्थितिमा समझदारीमा जानुको विकल्प थिएन,’ उनलले भने। समझदारीपछि असन्तुष्ट राजनीतिक दललाई सहमतिमा ल्याउने प्रयास हुने बताउँदै उनले नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले हतारमा टिप्पणी गर्नुलाई सान्दर्भिक मान्न नसकिने बताए।
प्रतिक्रिया