काठमाडौं, ३१ जेठ । नेपाली काँग्रेसले पार्टीको आशन्न तेह्रौँ महाधिवेशनका लागि आफ्नो तयारी तीव्र बनाएको छ। महाधिवेशन तयारी स्वरुप क्रियाशील सदस्यता विवादलाई अन्तिम टुङ्गोमा पुर्याउनका गृहकार्य भइरहेको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले हालसम्म ६० जिल्लामा क्रियाशील सदस्यताको टुङ्गो लगाइसकिएको बताए। विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद मिलाउन पार्टीले केन्द्रबाट प्रतिनिधि खटाएको छ। क्रियाशील सदस्यता छानबिन गर्नका लागि पार्टी केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा रमेश लेखक र रामकृष्ण यादव सदस्य रहनुभएको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति गठन गरिएको र त्यसले काम गरिरहेको छ। क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता वितरणमा धेरै विवाद देखिएका जिल्ला सिरहा, सप्तरी, पर्सा र रौतहट जिल्लामा पछिल्लो समयमा त्यहीँ गएर विवाद मिलाउन प्रतिनिधि खटाइसकेको छ । “त्यहाँको विवाद एक-दुई दिनभित्रमा टुङ्गिने छ”, छानबिन समितिका सदस्य रामकृष्ण यादवले भने।
यादवका अनुसार ती जिल्लामा जिल्ला सभापति र क्षेत्रीय सभापतिबीच विवाद देखिएको छ । पार्टीको केन्द्रीय महाधिवेशन आगामी भदौ २४ देखि २८ गतेसम्म हुने कार्यक्रम छ । निर्धारित कार्यतालिका अनुसार जिल्ला अधिवेशन साउन २६, क्षेत्रीय अधिवेशन साउन २२ र नगर तथा गाउँ अधिवेशन साउन १४ गते गर्ने योजना रहेको पार्टीका सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले जानकारी गराए। “असार १५ गतेभित्र क्रियाशील सदस्यता छानबिनको सबै काम पूरा गर्ने पार्टीको योजना छ, सदस्यता विवाद टुङ्गो लाग्नेबित्तिकै द्रुतगतिमा महाधिवेशन तयारी अगाडि बढ्ने छ”, उनले भने। नेता ढुङ्गानाका अनुसार भूकम्पका कारण प्रभावित क्षेत्रमा पार्टीका नेता खटिरहनुभएको हुँदा केही समययता केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । “अब चाँडै नै केन्द्रीय समितिको बैठक बसी पार्टीको महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम, विधान, राजनीतिक दस्तावेज तय गरिनेछ”, सङ्गठन विभाग प्रमुख ढुङ्गानाले भने।
सकेसम्म निर्धारित मितिमा नै महाधिवेशन गर्नका लागि पार्टीले आफ्नो क्रियाशीलता बढाएको ढुङ्गानाले बताए। रासस
प्रतिक्रिया