ल्यामल्याममा फसेका १४ जनाको अझै उद्धार हुन सकेन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७२, शुक्रबार ११:३४

पाँचथर, २९ जेठ । ताप्लेजुङको पश्चिमी क्षेत्रमा गएको पहिरोमा परी लिवाङ गाविसको ल्यामल्याममा फसेका १४ जनाको अझै उद्धार हुन सकेको छैन । मौसम खराब कारण उनीहरूको उद्धार हुन नसकेको प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले जानकारी दिए । वरिपरी पहिरो गएको र बीचमा फसेका उनीहरूलाई उद्धार गरी ल्याउन गएको हेलिकप्टर बिहीबार साँझ मौसम गडबढीका कारण गन्तव्य नपुगी फर्किएको हो । बिहान सबेरै उनीलाई उद्धार गर्न लिवाङतर्फ पठाउने प्रयास पनि दर्के पानीका कारण सम्भव भएन ।

taplaप्रमुख जिल्ला अधिकारी निरौलाले निरन्तरको पानी र मौसममा देखिएको परिवर्तन कारण उद्धारको प्रयास सम्भव नभएको बताए । उनले भने, ‘बिहीबार अपराह्न आइपुगेको नेपाली सेनाको हेलिकप्टर लिवाङ गाविसमा घाइते भएका आठजनालाई जिल्ला अस्पताल ल्याउन सफल भएको छ भने पहिरोको बीचमा फसेकालाई उद्धारका लागि प्रयास गरिरहेको छ ।’ ‘मौसममा देखिएको गडबढीमा सुधार आउने बित्तिकै हेलिकप्टरलाई लिवाङतर्फ पठाइने छ,’ जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका निरौलाले भने, ‘लिवाङको वडा नं २ ल्यामल्याम र थप पहिरो गएको फुगाम्देनको बीचमा भागमा १४ जना स्थानीय बुधबार रातिबाट फसिरहेका छन् ।’ जिल्ला प्रहरी कार्यालयका ताप्लेजुङ प्रमुख शान्तिराज कोइरालाले नेपाल प्रहरीको टोली घटना भएका सबै क्षेत्रमा पुगेको जानकारी दिए । उनका अनुसार हेलिकप्टरबाट उद्धार कार्य सम्भव नभए नेपाली सेना र सशस्त्र प्रहरीबाट समेत फसेकाको उद्धारका लागि सहयोगका लागि पहल भइरहेको छ । उनले पानी परिरहेकाले हराइरहेकाको खोजी कार्यमा समस्या भएको जानकारी दिए ।

यसैबीच उद्धार तथा राहतको व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठकले फसेकाको उद्धार, हराइरहेको खोजी र शव निकाल्ने कार्यको अहिलेसम्मको प्रगति र नयाँ रणनीति तयार गर्ने बताएको छ । भारी वर्षासँगै बुधबार राति गएको पहिरोमा परी ताप्लेजुङका पाँच गाविसमा कम्तीमा ५५ जनाको मृत्यु भएको छ । अहिलेसम्म २४ वटा शव प्राप्त भइसकेको र ३१ जना हराइरहेको प्रजिअ निरौलाले बताए ।

प्रधानमन्त्रीसहितको टोली प्रभावित क्षेत्रको निरीक्षणमा आउने
बुधबार राति ताप्लेजुङमा गएको पहिरोको निरीक्षणका लागि प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानसेनापति गौरवशमशेर राणासहितको टोली यहाँ आउने कार्यक्रम रहेको जानकारी पनि प्रमुख जिल्ला अधिकारी निरौलाले गराए । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१