नवराज कुँवर, विद्यार्थी किन्नरेट कलेज इजरायल । म इजरायल आउनुको पछाडी दुइटा कारण छन् । जसरी क्रश बोर्डर एग्रिकल्चर तालीम कार्यक्रमको उद्देश्य वा स्लोगन् दुईवटा छन् । ῾लर्न् एण्ड अर्न्᾿ । अर्थात कमाउने र सिक्ने ।
कमाउने उद्देश्य ः कतिपय साथीहरु एक महिनामा एक लाख कमाई हुन्छ भन्ने होडबाजीमा परेर हामफाल्नुभएको पाएँ । तर म, सिकेबापत र इजरायलमा बसेबापत तिर्ने पैसा कमाउनका लागि आएँ । तर मैले घर पठाउने रकम समेत कमाउने मौका पाएँ ।
सिक्ने ः निश्चितरुपमा हाम्रोजस्तो कृषि प्रधान मुलुकको विकासको लागि कृषि नै एउटा दरिलो आधार हुन सक्छ । त्यही तथ्यलाई हृदङगम गर्दैै इजरायलको उदाहरणीय कृषि क्रान्ति र विकास हेरेर र पढेर आफ्नै देशमा केही गर्न सक्ने बनेर देश फर्कने आसा बोकेर आएँ । जहाँ सम्म लाग्छ, मेरो यो आसा निराशामा परिणत भईसकेको छैन ।
नेपालस्थित इजरायली एम्बेसी र साना किसान बिकास बैंकबीचको समन्वय, नेपाल सरकार परराष्ट्र र अर्थ मन्त्रालयको सहमतिमा संचालन भएको यस कार्यक्रममा सहभागी भईरहँदा जीवनका केही अत्यन्तै महत्वपूर्ण कालखण्डहरु गुजारियो । जति उपलब्धि हाँसील गरियो । जीवनमा संघर्ष, श्रम र समयबारे जान्नु एउटा मानिसका लागि सबैभन्दा ठूलो प्राप्ति हो । यस तालीमबाट ज्ञान र दाममात्रै हैन यी कुराहरुप्रति पनि सचेत रहन सिकियो । यो मेरो एक्ट्रा नलेज ।
फेरी पनि नेपाली साना किसानका छोराछोरीले सन् २०१५∕१६ को लागि यस तालीममा सहभागी हुने अबसर पाएका छन् । मेरै गाउँका केही दिदिबहिनीहरु यस कार्यक्रममा सहभागी हुन आउँदैहुनुहुन्छ ।
कार्यक्रममा सहभागी हुन आउने साथीहरु धेरैले सोध्नुहुन्छ के कस्तो छ वातावरण, के हो, कस्तो हो । सबैको लािग हुने गरी यस कार्यक्रममा सहभागी हुन आउनेहरुलाई पूर्व विद्यार्थीको हैसियतमा केही सुझाव दिन चाहान्छु ।
अहिले म इजरायलको उत्तरी भेगमा रहेको जोर्डन भ्यालीअन्तर्गत पर्ने बेतयोसेफ भन्ने ठाउँमा बसिरहेको छु । बेतयोसेफमा सिमसोन बाराजानी फार्म छ । शुक्रबार कलेज गइन्छ । त्यसबाहेक हप्ताको ५ दिन सोही फार्ममा काम गर्छौ । काम गरेबापत हामीलाई तलब पनि दिइन्छ । यस फार्ममा काम गर्ने ६ जना थाइल्याण्ड कामदार र ८ जना हामी नेपाली विद्यार्थी छौँ ।
तपाईलाई एकदमै जान्न मन लाग्ने कुरा हुन सक्छ– ῾के सिकिन्छ ? कमाई कति हुन्छ ? काम कस्तो गर्नुपर्छ ? कलेजमा के पढ्ने ?᾿ यस्तै यस्तै ।
῾लर्न᾿ अर्थात सिक्ने कुरा
तपाई हप्तामा एक दिन कलेज जानुपर्छ । जानैपर्छ । कलेज छुटाउनुभयो भने तपाई कारबाहीमा पर्नुहुनेछ । कारबाही स्वरुप कलेजले ५० डलर अर्थात करिब ५ हजार नेपाली जरिवाना लिन्छ ।
कलेजमा तपाईलाई विभिन्न खेतीपातीबारे डेप्थमा सम्बन्धित विषयका लेक्चररले अध्यापन गराउँछन् । बिहान ८ बजेदेखि दिनको २ बजेसम्म शुक्रबार पढ्ने हो । अंग्रेजीमा तपाईको राम्रो दखल छ भने तपाईले धेरै कुरा सिक्नुहुनेछ ।
इजरायली कृषि र यहाँजस्तै प्रयोग नेपालमा पनि गर्न सक्षम बनाउने उद्देश्यले अध्यापन गराइन्छ । अपवादबाहेक तपाईलाई कामदारको रुपमा फार्मरहरुले लिदैनन् । उनीहरुले विद्यार्थीहरुनै सम्झेर काम लगाउँछन् । हामै्र कतिपय साथीहरुले अन्जानमा गरेको गल्तिलाई त्यस्तो ठूलो गरि लिदैनन । ५० मि.लि हाल्नु भनेको औषधी ५ सय मिलि हालेर एक रुम टमाटर स्वाहा बनाए एकजना साथीले । तर त्यसलाई ती फार्मरले उसले अनजानमा गरेको गल्ती मानेर सिकाए ।
कलेजले भनिदिएअनुसार तपाईलाई फार्मरले यहाँको खेतीबारे जान्न खोजेको खण्डमा बताइदिन्छन् ।
अर्को महत्वपूर्ण कुरा, तपाईले संघर्ष के हो बुझ्नुहुनेछ । श्रम र समयको महत्वबारे प्रष्ट हुनुहुनेछ । सफलता देख्नुहुनेछ । उत्प्रेरणा प्राप्त गर्नुहुनेछ । काम गर्न सक्ने मान्छे बन्नुहुनेछ । पसीना बगाउन सिक्नुहुनेछ । कडा मेहनत गरेर आफू र आफ्नो परिवार पाल्न सक्षम व्यक्ति हुनुहुने छ । त्यतिमात्रै हैन बालुवामा सुन फलाएको हेर्नुहुनेछ । मरुभूमिमा पानी फैल्याएको देख्नुहुनेछ । अचम्मका उत्पादनहरु देखि त्यस्तै गर्ने हिम्मत जगाउनुहुनेछ आफूभित्र ।
῾अर्न᾿ अर्थात आम्दानी वा कमाई
कमाईको बारेमा त्यहाँ एक किसिमको हल्ला छ, महिनाको एक लाख रुपैयाँ । यसको पछि लाग्दै नलाग्नुस् । यहाँ एक लाख कमाई हुन पनि सक्छ, नहुन पनि सक्छ । कतिपय ठाउँमा साथीहरुले एक महिनामा १ लाख ५० हजारसम्म कमाएका छन् । त्यसो त कतिपय ठाउँका साथीहरु २० हजारमा चित्त बुझाएर बस्नुपरेको यथार्थ कसैले लुकाएर लुक्न सक्दैन । मेरो हकमा म सन्तुष्ट छु । कलेजलाई नेपालको झण्डै ५० हजार मासिक तिर्नुपर्छ । त्यो तिरेर कति साथीहरुले एक डेढ लाख पनि कमाउछन्, २० हजारमात्र पनि कमाउँछन् ।
यहाँ मोसफ र किबुच भन्ने एग्रिकल्चर कम्युनिटि छ । हामी काम गर्ने मोसफअन्तर्गत पर्छ । किबुच भनेको सामूहिक खेती प्रणाली अपनाइने समुदाय हो । किबुचमा पर्ने साथीहरु धेरैले कमाउँछन् । यद्यपी सबैको राम्रो हुन्छ नै भन्ने पनि हुन्न । मोसफमा हुने साथीहरुले पनि कमाउँछन् । हाम्रै नजिकै रहेको अवि इचाकका सुनिलजीहरुले हरेक महिना तपाईले त्यहाँ अपेक्षा गरेजतिकै कमाई गर्नुहुन्छ । तर यहाँ एक लाख कमाउन धेरै नै मेहनत गर्नुपर्छ । यही मोसफका कतिपय फार्मका साथीहरुले चाहेजति कमाउन सकेका छैनन् ।
पूर्व विद्यार्थीको हैसियतमा कमाईबारे तपाईलाई म एउटै सुझाव दिन चाहान्छु कि कमाईको अपेक्षा कम राख्नुहोला । २० हजारको अपेक्षा गरेर आउनुभयो भने त्योभन्दा बढि नै कमाउनुहुन्छ । तपाईलाई सन्तुष्टि मिल्नेछ । तर एक लाखको सपना देखेर हाम फालियो भने त्यति कमाउन सकिएन भने निश्चय नै दुखी भईन्छ ।
काम
घरमा कति काम गर्नुहुन्छ ? कति बानी छ घरमा काम गर्ने ? छैन भने यहाँको लागि तयारी शुरु गर्नुहोला । यहाँ पैसा कमाउन त्यति सजिलो छैन । जति हामीले सोचेका हुन्छौँ । हामी हरेक चुनौतिहरुलाई आफ्नै तरिकाले विचार गछौँ र आफ्नै अनुकुलतामा स्वीकार गर्छौ । यहाँ तपाईले प्रतिदिन कम्तिमा ८ घण्टादेखि बढिमा १६ घण्टासम्म काम गर्नुपर्छ । जति धेरै काम त्यति धेरै दाम । तपाई कस्तो किसानको फार्ममा पर्नुहुन्छ भन्नेमा भर पर्छ । जो तपाईको भाग्यमा निर्भर छ । यहाँ तपाईलाई अनुहार जीउडाल हेरेर राम्रो नराम्रोमा पार्ने काम कोही कतैबाट हुँदैन । जो जहा पनि पर्न सक्छ ।
कृषिको क्षेत्रमा आउदै हुनुहुन्छ । काम खेतीपातीसम्बन्धि नै हो । तर नेपाली कृषिभन्दा यहाँको कृषि प्रणाली अलि भिन्दै छ । नेपालको जस्तो शारिरिक रुपमा दलिएर गर्नुपर्ने काम विरलै हुन्छ यहाँ । तर धेरै समयसम्म काम लगातार गर्नुपर्दा हलुका कामले पनि शरिर खत्रक्कै बनाउँछ । ट्रयाक्टरमा चढेर ग्रीन हाउससम्म जानुपर्छ, त्यसैमा फर्किनुपर्छ । ग्रीन हाउसभित्र काम गर्नुपरेको खण्डमा तपाईले ६० डिगी्रको गर्मीमा पनि गर्नुपर्ने हुन्छ । केरातिर पर्नुभयो भने ५० किलोभन्दा बढि वजन भएको केरा पनि बोक्नुपर्छ । खजुरमा पर्नुभयो भने रुखमा चढेर काम गर्नुपर्छ ।
गाउँमा कहिलेकाहिँ मकैको ढोड बालेको बेला अगाडी बस्न सकिदैन अनि अनुहार छोपिन्छ नि, हो त्यतिकै तातोमा यहा काम गर्नुपर्छ गर्मीको समयमा । खासगरि अप्रिलदेखि अगस्टसम्म गर्मी हुन्छ । ओपन फिल्डमा पर्ने साथीहरुले पनि यहाँको घामको ताप थाहा पाउनुहोला । जाडोको मौसममा माइनस ५ सम्मको जाडो भोग्नुपर्ने हुन्छ । गर्मीमा काम गर्दा शरिर र शरिरमा लगाईएको कपडा पसिनाले भिजिसकेपछिमात्र अलि सन्च भएजस्तो हुन्छ । बिहान ४ बजे उठेर खाना बनाएर टिफीनमा राखेर ६ बजे बिहान फार्ममा छिरेको मान्छे १२ बजे आधा घण्टाको ब्रेकभित्र खाना खाएर रेष्ट गरिसक्नुपर्ने हुन्छ । त्यसपछि फेरी ५, १० बजेसम्म ननस्टप काम ।
जे होस् तपाईलाई शुरु शुरुमा समय ढिला गइरहेको छ झैँ हुन्छ । १० महिना लामो लाग्छ । तर जब तपाइ ३ महिना पार गर्नुहुन्छ त्यसपछि तपाईले समय गएको भेउ पाउन छाड्नुहुनेछ । याद गर्नुहोस् इजरायली समय, श्रम र श्रमीकलाई सम्मान गर्छन् । राम्रो काम गर्नुभयो भने तपाईलाई मन पराउँछन् नजिक हुन्छन् । उनीहरु पनि कडा मेहनत गर्छन् ।
बसाई
तपाईको फार्मर अनुसारको बसाई र सुविधा हुन सक्छ । प्रायसः इजरायली कृषककहाँ थाइल्याण्डका कामदार हुन्छन् । धेरै ठाउँमा उनीहरुसंगै मिलेर बस्नुपर्ने हुन्छ । खाने कुरा नमिल्ने हुँदा त्यसमा अलि समस्या पर्न सक्छ ।
घरबाट आउँदा राइसकुकर, झुल, मच्छेड धुप, विरामी हुँदाका सामान्य औषधीहरु ल्याउनुहोला ।
इजरायलमा हरेक समान महंगो छ त्यसैले सामानहरु सकेसम्म उतैबाट ल्याउनुहोला । काम गर्दा लगाउने पुराना कपडाहरु अलि धेरै ल्याउनुहोला । जस्तो ट्रयाक, टिसर्ट, पूरा बाहुला भएका सर्ट, सेन्डो, कभर ह्याट, सन ब्लक क्रिम, सन ग्लास, केही जोर पन्जा । काम गर्दा लाउन मिल्ने खालको अलि दर्हो शुल भएको जुत्ताहरु २∕३ जोर ल्याउनुहोला । इलेक्ट्रिक सामान यहाँ महंगो हुन्छ त्यसैले त्यस्ता सामाग्रि उत्तैबाट ल्याउनुहोला । चिया खाने बानी भए थर्मस ल्याउनुहोला । जाडोमा निकै सजिलो हुन्छ । ब्रस, साबुन, सर्फ, चप्ली, टूथपेष्ट, मसलाहरु, दाललगायतका सामाग्रि उतैबाट ल्याउनुभयो भने निकै सस्तोमा पर्नुहुनेछ । यसबारे डिटेल तपाइले साना किसान इजरायल २०१४∕१५ भन्ने ग्रुपमा गएर हेर्न सक्नुहुनेछ ।
कम्प्लेन नगर्नुस्
विदेशको बसाई हो, सानातिना समस्याहरु आइरहन सक्छ । फार्मर र कलेजलाई सामान्य समस्याबारे कम्प्लेन गरिरहनुभयो भने मन पराउँदैनन् । जसले यहाँको बसाई झन निराशापूर्ण बनाउन सक्छ । हाम्रै केही साथीहरुले आर्गुमेन्ट, कम्प्लेन गरेको भन्दै नेपाल फिर्ता गरिएका छन् । तर साच्चै ठूलो समस्या, तपाईलाई निकै अप्ठेरो परेको खण्डमा भने गर्न सक्नुहुनेछ । तपाईको जिम्मेवारी कलेजले लिएको हुन्छ । समस्या समाधानमा कलेजले हेर्ने गर्छ ।
फार्मर राम्रो र बुझ्ने किसिमको छ भने तपाईको समस्यालाई उसले सामान्यरुपमा हल गरिदिन्छ । तर सबै त्यस्तो हुँदैनन् । हाम्रो फार्मर सिमसोन बाराजानी आजसम्म हाम्रो लागि राम्रा छन् । सिमसोन भन्दा उनका छोराले हामीलाई अझै मजाले बुझेको महशुस हामी गर्छौँ ।
भाग्ने प्रयास नगर्नुस्
हाम्रो पालीमा अधिकांश साथीहरु भाग्ने प्रयास गरेनन् । केही साथी प्रयास गरेको तर पकडाउ खाएको खबर सुन्न सम्म आए । एकजना साथी चाहिँ भागेका छन् । जसको कारण उनको रिफन्डेबल अमाउण्ट, १० लाख धरौटी र उनको गाउँबाट यसपाली एकजना पनि सहभागी ल्याइएन । तपाईसंग पैसामात्र जोडिएको हुन्न । तपाईको सामाजिक प्रतिष्ठा र नैतिक चरित्र पनि जोडिएको हुन्छ । तपाइबाट गाउँले, परिवारले र सिङगो देशले नै अपेक्षा राखेको हुन्छ भन्ने कुरा नभुलिदिनुहोला ।
तबमात्र आउनुुस
अन्तरवार्तामा म जे पनि गर्न सक्छु भनेर आइन्छ यहाँ आएर गर्न नसकेर कराउन थालियो भने भोली असफल भएर फर्कनुपर्ने पनि हुन सक्छ । कार्यक्रममा केही कमजोरीहरु अवस्य छन् यद्यपी यो कार्यक्रमले साना किसान र बेरोजगार युवाहरुलाई बिकल्पसहित मार्गनिर्देशन गर्न अत्यन्तै ठूलो भूमिका खेलेको छ भन्ने कुरालाई बिर्सनुहुँदैन । इजरायल आएर तपाई सबैले नेपाल फर्केपछि कृषि व्यवसाय नअंगाल्नुहोला तर केहीले त अंगाल्नुहोला नि ? अहिलेको परिस्थितको लागि थोरैमा १० प्रतिशत युवा नै कृषितर्फ आकर्षित हुनु भनेको पनि प्रेरणादायक र उपलब्धिमूलक कार्य हो । यहाँ आएपछि कतिपय साथीहरु सुरुसुरुमा कामको प्रेसर, कडा परिश्रम र शारिरीक पिडा महशु भई कार्यक्रम, कलेज र साना किसान बिकास बैंकको विरोध गर्न थाल्छन् । तर हामीले सोच्नुपर्ने कुरा के छ भने, हामी पो काम गर्न नसक्ने रहेछौँ, विदेशमा संघर्ष गर्न नसक्ने रहेछौँ र चित्त बुझाउँदैनौँ तर नेपालका ती साच्चै किसानका छोराछोरीले त सक्लान नी । उनीहरुको अबसर हामीले किन खोस्ने ? त्यसैले यी सबै स्वीकार्न सकिन्छ र भव्य र सभ्यरुपमा कार्यक्रममा सफल सहभागी भई फर्किन्छु भन्ने आत्मविश्वास अझै भए आउनुहोस् ।
तपाई आफ्नो तालीमअवधीमा अनुशासीत, संयमित र धैर्य भएर कलेज, फार्म र होस्टेलको नियम नतोडी बस्नुभएको खण्डमा तपाई पुरस्कृत पनि हुन सक्नुहुनेछ । फार्मरकहाँ काम गर्दा इमान्दार भएर गर्नुभयो भने तपाई पुरस्कृत हुन सक्नुहुनेछ । काम गर्दा हतारिएर, डराएर र आत्तिएन गर्नुहुँदैन । आफ्नै रफ्तारमा गर्ने बानी गर्नुपर्छ । सकेसम्म यहाँका फार्मरले तपाईसंग छिटो काम खोज्छन् । तर तपाईले ध्यान दिनुपर्ने कुरा के हुन्छ भने आज तपाईले जति छिटो काम गर्नुहुन्छ भोलि पनि त्यही रफ्तारमा काम खोज्छन् । त्यसैले फार्मर पनि नरिसाउने र आफ्नो ज्यान पनि जोगाएर काम गर्नुपर्छ । गर्मीमा ज्यादा पानी खाने गर्नुपर्छ । यदि एक वर्षको समयमा तपाईको कुनै कमेन्ट र कम्प्लेन कलेजमा गएन भने तपाईलाई ग्रुप लिडरको रुपमा छानेर कलेजले थप एक वर्ष राख्न पनि सक्छ ।
घरमा २ घण्टा पनि काम नगरेको म, १५ घण्टा दिनको काम गर्ने भैसकेको छु । अब सक्छु भन्ने आत्मविश्वास पनि छ । काठमाडौंमा एउटा रेडियो र पत्रिकामा राम्रै पोजिसनमा रहेर काम गरिरहेको थिएँ । यस कार्यक्रममा सहभागी भई कृषिको क्षेत्रमा योगदान गर्ने उद्देश्यले आएँ । शुरुमा निकै उदेक लाग्यो । यो कार्यक्रम अर्थहीन लाग्थ्यो । राष्ट्रिय पत्रपत्रिकामा म लेख तथा समाचारहरु लेखिरहन्छु अहिले पनि । त्यस्तो उदेकको घडीमा मैले पनि यहाँको कमजोरीलाई तर्क बनाएर लेखहरु लेख्न सक्थेँ । राष्ट्रिय रुपमा यस कार्यक्रमबारे घोत्लन सम्बन्धित निकायको ध्यानाकर्षणसम्म गराउन सक्थेँ । तर मैले त्यसो गरिन । यस कार्यक्रमलाई ती साना किसानको छोराछोरीको पक्षमा राखेर सम्झिएँ जो सक्षम भएर पनि कृषिको क्षेत्रमा विकर्षित छन् र दिनहुँ झोला बोकेर विदेशीन बाध्य छन् । अन्तत म आफै पनि कार्यक्रमबाट फाइदा लिनेमा परें । त्यसैले सकिदैन, हुनै सक्दैन भन्ने पनि हुँदैन । प्रयास न हो । आउनुहुने साथीहरुलाई बधाई तथा स्वागतम ।
हामीले काम गर्ने फार्म र खेतीका केही चित्रहरु हेर्नुहोस ।
प्रतिक्रिया