रिङरोडभन्दा अलिपर चोभार, सुन्दरीजल, खोकना, टोखा, गोदाबरी, मातातीर्थ र दक्षिणकाली पुगेपछि मलाई हराएको काठमाण्डू भेटाएझैं लाग्छ । माटाका रहरलाग्दा घर र मठमन्दिरमा बाचेको बास्तुसभ्यता, लोभलाग्दा हरियावारी र सफा पानीको मुहान भेटिने यी बस्तीले आफ्नो आदिम पहिचान आजपर्यन्त बचाएका छन् । माटो, पानी, हावा र वास्तुसभ्यता गुमाईसकेकाले मलाई रिङरोडभित्रको चौघेरो काठमाण्डूजस्तो लाग्दैन । काठमाडौंजस्तो लाग्छ । रङ्गीचङ्गी सपनाको अधेरो शहर काठमाडौं ।
काठमाण्डू सुन फलाउछ र झिसमिसेमै काठमाडौं भित्र्याउछ । काठमाडौं सुनलाई नुनको भाउँमा किन्न खोज्छ । मन चिसो भएपनि उसको मुख मिठो छ । खुवा, चिउरा, दुधदही, सागपात, फलफूल, माछामासु, कहाँ मिठो पाईन्छ सप्पै कण्ठै पारेको छ । पैसा मुठ्याएर बसेको उसकहाँ काठमाण्डू सेवासगै मन बोकेर घरघर धाउँछ । तर, काठमाडौं पैसाबाहेक कसैको मनितो गर्दैन । दिनमा हजारौ रुपैया हावामा उडाउने काठमाडौं काठमाण्डूसँग ‘एक मुठी सागमा एक रुपैया घटाईदेउ’ भनेर चोकचोकमा हत्ते हालिरहेको भेटिन्छ । चिसो सिमेन्टीमा बस्नेहरुले आफ्नो आत्मालाई सिमेन्टीकै जगमुनी पुरीसकेका हुदाहँुन सायद ।
एकाबिहानै काठमाडौंको घरघरमा गाईभैसीको दूध भित्र्याउँछन काठमाण्डूका ग्वालाहरु । फलामे ढोका सजिलै खुल्दैन । भीख माग्न बसेझै याचक दृष्टिले छत ताकिरहन्छन तिनीहरु । आधा घण्टा अलपत्र परेपछि फलाम खुल्छ । कसैलाई भिक्षा दिन ओर्लिएझै दुध थापेको देख्दा चरक्क चिरिन्छ काठमाण्डू । न आत्मीय ब्यवहार न थुप्रैबेर कुराएकोमा आत्मग्लानी । दिनदिनै दुधको धारा बगाउने काठमाण्डूले काठमाडौंमा एक कप चिया खाने भाग्य पाउदैन सायद । ४—५ बर्षदेखि दुध खुवाउदै आएको भएपनि घरवालाले कुनैदिन एककप चिया नखुवाएको दुखेसो एकजना ग्वालाले मलाई सुनाए । सागजस्तै दुधसग पनि काठमाडौं चरम
बार्गेनिङ गर्छ र लिटरमा २ रुपैया घटाउन सफल हुन्छ । उ रक्सीमा बार्गेनिङ गर्दैन । त्यसो गरे इज्जत जान्छ । इज्जतमा बडो सचेत छ काठमाडौं ।
काठमाडौं कति काकाकुल बनेछ भनेर बुझ्न मातातीर्थ, सुन्दरीजल र पानी बचेका अरु कुनाकानी गए बुझिन्छ । बडेबडे टयाङ्करको लस्कर लगाएर त्यसको पाईपबाट घाटी भिजाउन खोजिरहेको दारुण दृश्य त्यता देखिन्छ । आफ्नो पानी मोटरले तानेर भ्याईसक्यो । बाग्मती र विष्णुमतीमा टन्न गोबर भरेको छ । केही उपाय नभेटेपछि काठमाण्डू तनतनी पिएर तिर्खा मेटाइरहेछ काठमाडौं ।
काठमाडौंले संसारको सबैचीज एकैचोटी दोहन गर्ने बडेमाको कारखाना खोलेको छ । दोहन गरिसकेपछि स्याहार्ने र फाल्ने ढंग उसग छैन । मलमूत्र फाल्न बाग्मती र विष्णुमती धाउँछ । ठोस फोहोरजति ओखरपौखा, सिसडोल र स्यूचाटारतिर हुत्याउछ । देशको भएभरको स्रोतसाधन सोहोरेको उ बाकी दुनियालाई आश्वासन र सपनामात्रै बाड्छ । अनन्त सपनाको खेती गरेर मस्त सुत्छ काठमाडौं ।
उकुसमुकुस घटाउन हाईकिङ, साईक्लिङ र ट्रेकिङको बहाना झिकेर बेलाबेला काठमाण्डू धाउने काठमाडौं अब पोखिनमात्र बाकी छ । जल, जमिन, जंगल र जनशक्तिको अतिदोहन गरेर बसेको काठमाडौंलाई आजका मितिसम्म काठमाण्डूले मुश्किलले बचाएको छ । आफ्नै भलाईका लागी भएपनि आत्मघाती काठमाडौंले अब काठमाण्डूलाई बाच्न दिनुपर्छ । मान्छे मान्छेजस्तै भएर बाच्न एकमुठी हावा, दुईमुठी पानी र तीनमुठी मन चाहिन्छ ।
शहर भनेको सडक सन्जाल र बडेबडे संरचनामात्रै होईन भनेर बुझिदिन काठमाडौंले आनाकानी गरिरहेको छ । त्यसैले बरका रुख जुरुक्क उप्काउछ काठमाडौ । बालाजुका बाईसधारा भत्काउने अभिभारा बोक्छ काठमाडौं । शहर डोजरले मात्रै बन्दैन । शहर बन्न अलिकता सम्पदा र अलिकति सभ्यता चाहिन्छ । सम्पदा र सभ्यताले सम्पन्नता भित्र्याउने कुरो काठमाडौंले बुझिदिए उमात्रै होईन, काठमाण्डू पनि धक फुलाएर बाँच्छ । घाटी र पेटझै मिलेर बाच्न सिके काठमाडौं र काठमाण्डूको जय होस् ।
-मिलन वाग्ले
प्रतिक्रिया