ताप्लेजुङ, २८ जेठ । अविरल बर्षासँगै गएको पहिरोमा परी ताप्लेजुङमा १२ जनाको मृत्यू भएको छ । बुधबार साँझदेखि परेको वर्षासँगै गएको पहिरोमा परी ताप्लेजुङको पश्चिमी क्षेत्रका गाविसहरुमा गएको पहिरोमा परी दर्जनौं सम्पर्कविहिन भएका छन् । ८ जना गम्भीर घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा परी ज्यान गुमाउनेमा लिङतेपका चमेली लिम्बू र मनमाया लिम्बू, लिवाङका देवेन्द्र लिवाङ, खोक्लिङका सबिन मादेन र बसन्त बिकको सनाखत भएको छ भने अन्यको सनाखत हुन बाँकी रहेको छ । ताप्लेजुङको पश्चिमी क्षेत्रमा पर्ने गाविसहरु लिबाङ, थोक्लिङ, थिङलाबु र लिङकेत गाविसका प्रायः सबै वडामा एकैपटक भीषण पहिरो गएपछि जनधनको क्षति भएको हो ।
शव भेटिएकामध्ये पाँच जनाको शव थिङलावुबाट, २ जनाको शव खोक्लिङबाट , २ जनाको शव सान्थाक्राबाट, एक जनाको शव लिबाङबाट र दुई जनाको शव लिङथेपुबाट निकालिएको प्रहरीले जानकारी दिएको छ । पहिरोले ६ गाविसका दुई दर्जनभन्दा बढी घर बगाएको छ । निरन्तर वर्षाका कारण खोला र खोल्सामा पानी बढेकाले उद्धारमा समेत कठिनाइ आइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । गएराति नै ताप्लेजुङको म्याङखामा पनि पहिरो जांदा मेची राजमार्ग अवरुद्ध बनेको छ । काठमाडौंबाट सेनाको हेलिक्पटर गएपनि प्रतिकूल मौसमका कारण अवतरण गर्न नसकिएकोले स्थानीय र प्रहरी मिलेर उद्धार कार्य जारी राखेका स्थानीय सामुदायिक रेडियो खबर प्रसारण गरेका छन् ।
प्रतिक्रिया