काठमाडौं, २७ जेठ । नेपाल क्रिकेट संघ क्यानले आगामी महिना आयरल्याण्ड र स्कटल्याण्डमा संयुक्तरुपमा आयोजना हुने आईसीसी विश्वकप ट्वान्टी-ट्वान्टी छनोट क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बुधबार ४ बैकल्पिक खेलाडी सहित नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लसहित सरद् भेसवाकर, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सुवास खकुरेल, शक्ति गौचन, सागर पुन तथा बिनोद भण्डारी परेका छन् । यस्तै राजेश पुलामी मगर, प्रदिप ऐरी, जितेन्द्र मुखिया, अनिल मण्डल र सिद्धान्त लोहनीलाई पनि टिममा स्थान दिइएको छ । बैकल्पिक खेलाडीमा भने पृथु बास्कोटा, मेहबुब आलम, अभिनास कर्ण र भूवन कार्की छन् । महेश क्षेत्री, सौरभ खनाल र हरिशंकर शाहले भने टोलीमा स्थान बनाउन सकेनन् ।
प्रमुख प्रशिक्षक पुवुदु दाशानायके रहेको नेपाली टोलीको ब्याटिङ कोचमा आईपीएल टिम राजस्थान रोयल्सका प्रशिक्षक मन्टी देसाईलाई चयन गरिएको छ । यस्तै नेपाली टोलीका पूर्वकप्तान विनोद दास बलिङ कोच, रमन सिवाकोटी टेक्निकल एनालिस्ट र एेजाज असई फिजियो रहेका छन् । व्यवस्थापनतर्फ भने टिम लिडरमा क्यान अध्यक्ष दीपक कोइराला र टिम म्यानेजरमा अधिकृत छुम्बी लामा रहेका छन् ।
प्रतिक्रिया