काठमाडौं, २६ जेठ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख चार दलबीच १६ बुँदे सहमति भएसँगै संविधान निर्माणको ढोका खुलेको भन्दै संविधान अब सुपर फास्टट्रयाक विधिबाट बन्ने बताउनुभएको छ । पार्टीको राष्ट्रिय स्वयंसेवक परिचालन समितिले मंगलबार पार्टी मुख्यालय बल्खुमा गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले समय किटान नगरी संविधान अब छिट्टै जारी हुने बताउनुभयो । उहाँले केही साना दल असन्तुष्ट भएका आधारमा संविधान निर्माणको काम अब नरोकिने बताउनुभयो । एमाले अध्यक्ष ओलीले १६ बुँदे सहमति गर्दा पार्टीले कुनै अडान नछोडेको दाबी गर्नुभयो । उहाँले संविधानभन्दा प्रदेशको संख्या गौण भएको भन्दै ६ को सट्टा ८ प्रदेश बनाउँदा केही फरक नपर्ने बताउनुभयो ।
उहाँले प्रदेशको संख्याभन्दा प्रदेशको सीमांकन महत्वपूर्ण भएको भन्दै एमालेले प्रदेशको संख्यामा अडान छोडेको प्रचार नगर्न सञ्चारकर्मी र विश्लेषकहरुलाई आग्रह गर्नुभयो । एमाले अध्यक्ष ओलीले भूकम्पका कारण मुलुक नै एकजुट हुनुपर्ने अवस्था सिर्जना भएको भन्दै दलहरुले सहमतिका आधारमा संविधान निर्माण गरी पुनःनिर्माणमा ध्यान केन्द्रित गर्ने बताउनुभयो । उहाँले संविधानका अन्तर्वस्तुमा भएको १६ बुँदे सहमतिले दलहरु पुनःनिर्माणमा एकताबद्ध हुने सन्देश गएको बताउनुभयो ।
कार्यक्रममा पार्टीको राष्ट्रिय स्वयंसेवक परिचालन समितिका संयोजक गोकर्ण विष्टले भूकम्प प्रभावितहरुका लागि एमालेका स्वयंसेवकले अहिलेसम्म १५ हजार २ सय १० वटा अस्थायी टहरा निर्माण गरिदिएको जानकारी दिनुभयो । उहाँका अनुसार एमालेले ५ सय १४ वटा विद्यालयमा पठनपाठन सञ्चालन गर्न मिल्ने संरचना समेत बनाइदिएको छ । समितिले आगामी असार ४ गतेदेखि ६ गतेसम्म भुकम्प प्रभावित २५ जिल्लाका ७६ वटा निर्वाचन क्षेत्रमा पार्टीका स्थानीय कमिटीका सबै सदस्यलाई अनिवार्यरुपमा श्रमदानमा परिचालन गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया