एस.पी.गौरब
सर्लाही,२६ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले भूकम्पपछि मुलुकको पुनःनिर्माणका लागि नेपाली आफैँ सक्षम रहेको उल्लेख गर्दै विपत्तिलाई सम्झेर अहिले पुर्पुरोमा हात राख्ने बेला नरहेको बताएका छन् ।सर्लाहीको हरिवन नगरपालिका कार्यालय भवन शिलान्यास समारोहलाई आज सम्बोधन गर्दै उनले मुलुकका राजनीतिक दलसहित सबै नेपाली एकताबद्ध भए भूकम्पले विपत्तिमा परेको मुलुक पुनःनिर्माणँ गर्न सकिने बताएका छन । उनले भने भूकम्पपछि आइपरेको विपत्तिलाई सम्झेर अहिले पुर्पुरोमा हात राख्ने बेला हैन, सबै नेपाली एकताबद्ध भएर अगाडि बढ्नुपर्छ । उनले अब संविधान निर्माणले गति लिने र मुलुकले नयाँ संविधान छिट्टै पाउने विश्वास व्यक्त गरेका छन ।
उनले सर्लाहीको नवलपुर–मलङगवा एवम् नयाँरोड–मधुवनीसहित १२ हुलाकी सडक पुनःनिर्माणका लागि एक साताभित्र सरकारले बोलपत्र प्रक्रिया अगाडि बढाउने तयारी गरेको समेत जानकारी दिए । भारत सरकारले पुनःनिर्माणँ सुरु गरेको पूर्व झापादेखि पश्चिम बदिर्यासम्मका १७ वटा सडकका भारतीय ठेकेदार पलायन भएपछि अब हामी आफैंले पहिलो चरणमा १२ वटा सडकको काम अगाडि बढाउने तयारी गरेका छौँ । हरिवन नगरपालिका कार्यलय भवन रु सात करोड ५१ लाख १७ हजारको लागतमा निर्माण हुनेछ । पहिलो चरणमा हाल दुईतले भवन बनाउन सङघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपलब्ध गराएको रु एक करोडसहित विभिन्न दातृ निकाय एवम् नगरपालिकाको आफ्नै स्रोतबाट रु चार करोड नौ लाख २३ हजार ५०० बजेट छुट्टयाइएको कार्यकारी अधिकृत होमबहादुर थापाले जानकारी दिए ।
प्रतिक्रिया