काठमाडौं, २६ जेठ । एमाओवादी वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले चार राजनीतिक शक्तिबीच भएको १६ बुँदे सहमति यो नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको इतिहासको स्वर्ण क्षण भएको बताएका छन् । नेता भट्टराईले आफ्नो फेसबुक अपडेट गर्दै उनले लेखेका छन्, ‘यो नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको इतिहासको स्वर्ण क्षण हो ।’ उनले भनेका छन्, ‘२०७२ जेठ २५ गते भएको १६–बुँदे संवैधानिक सहमति २०६२ मंसिर ७ गते भएको १२ बुँदे समझदारीदेखिको राजनीतिक यात्राको अन्तिम कडी हो ।’ उनले चुनौति भने अझै नसकिएको बताएका छन् । उनले लेखेका छन्, ‘यो प्रक्रियाले पूर्णता प्राप्त गर्न अझै केही समय लाग्नेछ ।’
उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई ख्याल गर्दै यो प्रक्रियाका पक्षधर सबैले सुझबुझपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड समेत दिएका छन् । सम्झौताप्रतिको विविध खाले प्रतिक्रिया र टिप्पणीलाई संकेत गर्दै उनले लेखेका छन्, ‘हीनतावोध र आत्मश्लाघा दुवैबाट बच्नुपर्नेछ ।’ एमालेसँग सम्बन्ध सुधार्दै यो सहमति निर्माणमा भट्टराईले प्रचण्डलाई समेत सहमत बनाएको बजार हल्ला चलिरहेको बेला उनले अगाडि लेखेका छन्, ‘यो प्रक्रियामा कसको के भूमिका रह्यो अझै मूल्यांकन गर्ने बेला भएको छैन। इतिहास निर्माता र इतिहास लेखक अक्सर एउटै हुँदैनन्।’ नेता भट्टराईले कुनै पनि सम्झौताले सबैलाई पूर्ण सन्तुष्ट बनाउनै नसक्ने भन्दै लेखेका छन्, ‘त्यस्तो सम्झौता इतिहासमा न आजसम्म कतै भएको छ, न भविष्यमा हुनेवाला छ।’ उनले १६ बुँदे सहमतिलाई सबैको विजय र सबैको हारको रुपमा टिप्पणी गरेका छन् ।
प्रतिक्रिया