काठमाडौं,२६ जेठ । शिखर पोष्ट डट कमले आफ्नो पहिलो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । सोमबार राजधानीमा एक विशेष समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री कृपासुर शेर्पाको प्रमुख आतिथ्यता तथा पूर्व पर्यटन मन्त्रीद्वय बलबहादुर केसी र रामकुमार श्रेष्ठको विशेष आतिथ्यतामा शिखर पोष्टले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको हो ।
सो समारोहलाई सम्बोधन गर्दै पर्यटन मन्त्री कृपाशुर शेर्पाले भूकम्पको विपत्तिपछिको पर्यटनलाई प्रभावकारी रुपमा प्रवद्र्धन गर्न मन्त्रालयले विशेष योजना अघि बढाएको बताउनुभयो ।
पर्यटन प्रवद्र्धनका लागि मन्त्रालयले विशेष कार्ययोजना ल्याउने जानकारी दिदै उहाँले भन्नुभयो–‘बढी विदेशी पर्यटक भित्रयाउने गरी पर्यटन प्रवद्र्धनको कार्ययोजना बनिरहेको छ, पूर्व पर्यटनमन्त्रीहरुसँगको छलफलपछि विगतका अधुरा योजनालाई समेत कार्यान्वयन गर्ने गरी पर्यटनलाई योजनाबद्ध ढङ्गले अघि बढाइनेछ ।’ मन्त्री शेर्पाले नेपाल तथा यहाँका पर्यटकीय गन्तव्य सुरक्षित छन् भन्ने सकारात्मक सन्देश विश्वभर फैलाउन सञ्चारमाध्यमलाई आग्रहसमेत गर्नुभयो ।
पूर्व पर्यटनमन्त्री तथा सभासद बलबहादुर केसीले भूकम्पले क्षति पु¥याएको पर्यटन क्षेत्रलाई पहिलाकै अवस्थामा फर्काउन सरकार गम्भिर रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै अर्का पूर्व पर्यटनमन्त्री रामकुमार श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि सरकार, व्यवसायी र सञ्चारकर्मीबीच सहकार्यकोे खाँचो औंल्याउनुभएको थियो ।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको तयारी भइरहेको र एकदुई दिनभित्रै टुङगो लाग्ने जानकारी दिनुभयो ।
शिखर पोष्टका अध्यक्ष प्रकाश खालिङले पर्यटन क्षेत्र क्षतविक्षत भएको भन्दै देशको पर्यटन विकासको लागि छुट्टै गुरुयोजना आवश्यक रहेको बताउनुभयो ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) का अध्यक्ष डिबी लिम्बु, टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुरगान) का अध्यक्ष हरेराम बराल, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वमहासचिव मोहन लम्साल, एनएमएका पूर्वउपाध्यक्ष निमानुरु शेर्पा, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलिया, टानका पूर्वा अध्यक्ष सिताराम सापकोटा, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालगायतका वक्ताहरुले नेपालको पर्यटनबारे सकारात्मक सन्देश प्रबाह गर्नुपर्ने बेला आएको भन्दै त्यो भूमिका खेल्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको थियो ।
सो अवसरमा विभिन्न विद्याबाट देशको आर्थिक र सामाजिक विकासमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । सम्मानित हुनेहरुमा मकालु एडभेन्चर प्रालिका प्रबन्ध निर्देशक मोहन लम्साल, रसुवा टे«क्स एण्ड एक्स्पीडिसनका प्रबन्ध निर्देशक बलराम न्यौपाने, एडभेन्चर जिइओ टे«क्सका प्रबन्ध निर्देशक निरकुमार खालिङ, से–गुम्बा इन्टरनेश्नल फ्रेडका प्रबन्ध निर्देशक सुशिल अधिकारी, हिमालयन जोय एडभेन्चरका प्रबन्ध निर्देशक चोलेन्द्र कार्की, युनिक एडभेन्चर इन्टरनेश्नलका प्रबन्ध निर्देशक खुमबहादुर सुवेदी, लोर्ड बुद्ध भेइकल टुर सर्भिसका प्रबन्ध निर्देशक प्रेमा लामा, फ्रिक्वेन्सी टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक गीता गुरुङ, बज्र टुर्स सर्भिसका प्रबन्ध निर्देशक धिरज बज्राचार्य, हिलटप रेस्टुरेन्टका सञ्चालक तुल्सी मरहठ्ठ, समाजसेवी सौमान राई र रुद्र घतानी हुनुहुन्छ ।
सोही अवसरमा हिरो अफ दि टुरिज्म जर्नालिस्ट अवार्डबाट पर्यटन पत्रकार मञ्चका अध्यक्ष शिव अधिकारीलाई सम्मानित गरिएको छ । यसैबीच, शिखर पोष्टको स्मारिका विमाचन गरिएको थियो ।
कार्यक्रममा पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालयका प्रतिनिधिहरु, विभिन्न पर्यटकीय संघसंस्थाका अध्यक्षहरु, सामाजिक संघसंस्थाका अध्यक्षलगायत करिब साढे दुई सय जनाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया