काठमाडौं,२५ जेठ । एकिकृत नेकपा माओवादीका महासचिब कृष्ण बहादुर महराले सरकारमा जानको लागि अनिवार्य शर्त नयाँ संविधान भएको बताएका छन् । उनले जनताले चाहेको जस्तो संविधान नबनी एमाओवादी सरकारमा सहभागी नहुने जिकिर गरे । भूकम्पपीडितका लागि एमाओवादीले सुरु गरेको श्रम अभियानकर्तालाई काठमाडौंमा सम्मान गर्दै महराले भने, ‘संविधानको अन्तर्वस्तुमा सहमति कायम भएपछि मात्रै राष्ट्रिय सरकारमा सहभागी बन्न सकिन्छ ।’ महाविपत्तिको सामना गर्न एकताको आवश्यकता हुनाले राष्ट्रिय सरकारको प्रसंग उठेको उनले बताए । उनले अगाडि थपे, ‘संविधानको अन्तरवस्तुमा सहमति नजुटे हामी सरकारमा जाँदैनौं, बाहिरै बसेर सरकारलाई सहयोग गर्दै प्रतिपक्षीको रचनात्मक भूमिका निर्वाह गरिरहन्छौं ।’
‘उनले एक फरक प्रसंगमा एमाओवादी केही मानिसहरुले आरोप लगाएको जस्तो कुर्सीको लोभी नरहेको जिकिर गरे । उनले छिटोभन्दा छिटो नयाँ संविधान जारी गर्न संविधानका विवादित बिषयमा एमाओवादी लचक हुन तयार रहेको बताए ।
एमाओवादी काठमाडौं, क्षेत्र नं.१ ले आयोजना गरेको सम्मान कार्यक्रममा एमाओवादी विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति थियो । एमाओवादीले भूकम्पपछि सञ्चालन गरेको श्रम अभियानको क्रममा १ लाख १२ हजार नेता कार्यकर्ता सहभागी भएका जानकारी दिएको छ ।
प्रतिक्रिया