बन्द क्यासिनोको अवस्था बुझ्न उपसमिति गठन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ जेष्ठ २०७२, सोमबार ११:०२

काठमाडौं, २५ जेठ । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बन्द क्यासिनोको भौतिक सम्पत्तिको अवस्था बुझ्न र उनीहरुबाट बाँकी बक्यौता असुल उपर गर्न नसक्नुको कारण अध्ययन गरी सुझाव पेश गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ । समितिले पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पा र मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठलाई बोलाएर छलफल गरी बन्द क्यासिनोको भौतिक सम्पत्तिको अवस्था र बक्यौता रकम असुल हुन नसक्नुको कारण अध्ययन गर्न उपसमिति गठन गरेको हो ।

उपसमितिमा सभासदहरु राजिवबिक्रम शाह, मिनबहादुर विश्वकर्मा, राधा तिमिल्सिना, पेम्बा लामा, ललिता रेग्मी, प्रभादेवी बज्राचार्य र राज्यलक्ष्मी श्रेष्ठ सदस्य रहनुभएको छ । बैठकमा पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेठले बन्द भएका क्यासिनोले ९३ करोड ७३ लाख ६६ हजार रुपैयाँ रोयल्टी बुझाउन बाँकी रहेको जानकारी गराएपछि समितिले उपसमिति गठन गरेको हो ।

casino-rouletteपर्यटन सचिव श्रेष्ठका अनुसार क्यासिनो नेपालले सबैभन्दा धेरै २६ करोड ६८ लाख तथा क्यासिनो अन्नाले १९ करोड २६ लाख ८२ हजार रुपैयाँ रोयल्टी तथा जरिवाना बुझाउन बाँकी छ । सरकारले राजस्व तथा रोयल्टी रकम बढाइ क्यासिनो नियमावली जारी गरेपछि १० वटा क्यासिनो २०७१ को वैशाखको पहिलो साताबाट बन्द भएका थिए । तर पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पा भने बन्द क्यासिनो खुलाउने पक्षमा देखिनुभएको छ ।

उहाँले समितिको बैठकमा क्यासिनो बन्द हुँदा हजारौं मजदुरको रोजगारी खोसिएको भन्दै पुराना मजदुरलाई रोजगारी दिने र बाँकी बक्यौता बुझाउने सर्तमा आफूले क्यासिनो सञ्चालनको पहल गरिरहेको बताउनुभयो । बन्द क्यासिनोहरुले आफ्ना मजदुरहरुलाई समेत तलबभत्ता बापतको करोडौं रुपैयाँ दिन बाँकी छ । सरकारले नियमावली जारी गरी नविकरणका लागि पटक पटक म्याद दिँदा क्यासिनोले नविकरण गर्न अटेरी गरेका थिए ।
समितिले विभिन्न मुलुकस्थित आफ्ना राजदूतमार्फत विश्व समुदायमा पर्यटकका लागि नेपाल असुरक्षित छैन भन्ने सन्देश दिइ पर्यटकको आवागमन बढाउने काम गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले भूकम्पका कारण क्षतिग्रस्त भएका साँस्कृतिक सम्पदाको मर्मत सम्भार र पुनःनिर्माणको काम सुरु गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयका अनुसार भूकम्पका कारण पर्यटन तथा सम्पदाको क्षेत्रमा ४४ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१