केसी मेमोरियल ट्रष्टद्वारा रु तीन करोडभन्दा बढीको राहत सामग्री वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ जेष्ठ २०७२, शनिबार ०७:४८

11428065_1000359239976755_3639630840087857758_nकाठमाडौँ,२३ जेठ । नुवाकोटका भूकम्पपीडितका लागि राहतस्वरुप अमेरिकामा बस्ने नेपाली नागरिकले रु १८ लाख ८२ हजार आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

यशोदादेवी भगवानसिंह केसी वृद्धाश्रममार्फत अमेरिकामा रहनुभएका धनञ्जय नरसिंह केसीले राहतका लागि उक्त रकम सङ्कलन गर्नुभएको हो ।

यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टमार्फत खर्च गर्ने गरी भूकम्पपीडित नुवाकोटवासीलाई राहत सामग्री उपलब्ध गराउन नुवाकोटमा स्थायी घर भई कामका सिलसिलामा अमेरिकामा रहेका व्यक्तिले उक्त रकम जुटाएका हुन् ।

सो रकम जिल्लाका ३५ वटा माध्यमिक विद्यालय निर्माणका लागि प्रदान गरिने ट्रष्टका अध्यक्ष डा केदारनरसिंह केसीले जानकारी दिनुभयो । उहाँले भूकम्पले जमिन, जनता र सम्पत्तिलाई हल्लाए पनि ट्रष्टको कार्यलाई अवरोध गर्न नसकेको हुँदा पीडितलाई तत्काल उद्धार, उपचार र राहत उपलब्ध गराउन सफल भएको बताउनुभयो ।

भूकम्पबाट जनधनको क्षति भएका परिवारलाई ट्रष्टले एक महिनाको अवधिमा रु तीन करोडभन्दा बढी राहत सामग्री वितरण गरिसकेको छ।

सो ट्रष्टद्वारा आयोजित पत्रकार सम्मेलनमा भूकम्पपछि लगत्तै नुवाकोट जिल्लासहित राजधानी र छिमेकी जिल्लामा समेत ट्रष्टले राहत सामग्री वितरण गरेको जानकारी दिइयो ।

ट्रष्टका संरक्षक अर्जुननरसिंह केसीले मुलुक महाविपत्तिमा परेका बेला सबैले सम्पूर्ण राष्ट्र र जनता एकताबद्ध भएर राहत र पुनःनिर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो –“ट्रष्टले जिल्लामा २५ वटा स्वास्थ्य शिविर सञ्चालन र गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्तिका अतिरिक्त विभिन्न रचनात्मक कार्य गर्दै आएको छ ।”

ट्रष्टले राजनीतिभन्दा माथि निःस्वार्थ भावनाले प्राथमिकता र आवश्यकताको पहिचान गरी राहत सामग्री वितरण गरेको महासचिव जगदिशनरसिंह केसीले जानकारी दिनुभयो ।

ट्रष्टमार्फत राहत प्रदान गर्न नेपालस्थित भारतीय दूतावास, नेपाल चिकित्सक सङ्घ, आम्दा नेपाल, गायत्री परिवार, कस्मिरी मस्जिद, माइती नेपाल, पतञ्जली योगपीठलगायतले सहयोग पुर्‍याएका थिए ।

पूर्व सभासद् गणेश पण्डितले राहतलाई आवश्यकताअनुसार पारदर्शी रुपमा वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नेपाली काँग्रेसका जिल्ला नेता ध्रुव अधिकारी र पत्रकार महासङ्घका पूर्व महासचिव पोषण केसीले ट्रष्टले विभिन्न कार्यक्रममार्फत जनचेतना, जनजागरण, सामाजिक सेवा र रचनात्मक कार्य गर्दै आएको बताउनुभयो ।

भूकम्पबाट नुवाकोट जिल्लामा ६८ हजार घर क्षति भएका छन् भने ४८६ विद्यालय भवन भत्किएका छन् । यशोदादेवी केसीको निधनको तेह्रौँ दिनको पुण्यतिथीको अवसर पारेर उहाँका जेठा छोरा अर्जुननरसिंह केसीसहित सात दाजुभाइले ट्रष्टको स्थापना गरेका हुन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१