काठमाडौं,२२ जेठ । भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीले कक्षा १० मा पनि विद्यालय परिवर्तन गर्न पाउने भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले अति प्रभावित विद्यालयका विद्यार्थीले यस्तो सुविधा पाउने निर्णय गरेको हो। कक्षा नौसम्म मात्रै विद्यालय स्थानान्तरण गर्ने व्यवस्था भएपनि भूकम्प प्रभावित विद्यार्थीलाई यस्तो सुविधा दिइएको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए। यस्तै सरकारले भूकम्प प्रभावितको परिचयपत्र वितरणमा सम्बन्धित गाविसमा रहेका विद्यालयका प्रधानध्यापकहरुलाई परिचालन गर्ने निर्णय गरेको छ।
यस्तै परिचयपत्र पाएका पीडितहरुलाई मालपोतमा छुट दिने निर्णय गरेको छ। बैठकमा प्राकृतिक विपत्तीमा राहत वितरण गर्न आयात गरिने सामग्रीमा भन्सार छुट दिने कार्यविधी पारित भएको छ। भूकम्प प्रभावितका लागि अस्थाई बासस्थान बनाउन जस्ता अभाव भएको सन्दर्भलाई ध्यान दिँदै मन्त्रिपरिषदले साल्ट ट्रेडिङ लिमिटेड र नेसनल ट्रेडिङ लिमिटेडलाई भन्सार छुट दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको शुक्रबारको बैठकले नेसनल ट्रमा सेन्टर सञ्चालनको संगठन संरचना पनि पारित गरेको छ। २३३ जना जनशक्ति रहने गरी संगठन संरचना पारित गरेको हो। भारत सरकारले निर्माण गरिदिएको ट्रमा सेन्टर गत साल नेपाल सरकारलाई हस्तारण गरेको थियो। क्रिकेट खेलाडीलाई पुरस्कारमा दिइने गाडि आयातमा भन्सार छुट दिने निर्णय गरेको छ। यस्तै वि.सं. २०३८ सालमा राजनीतिक मुद्दा लागेका केही बन्दीलाई मुक्त गर्न पनि मन्त्रिपरिषदले राष्ट्रपतिलाई सिफारिस गरेको छ।
प्रतिक्रिया