काठमाडौ, २२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चार दलका एक दर्जन असफल, असक्षम र भ्रष्ट नेताहरुका कारण मुलुकले संविधान पाउन नसकेको आरोप लगाएका छन । उनले भने– चार दलका एक दर्जन भ्रष्ट, असफल र असक्षम नेताहरुले संविधानसभालाई बन्धक बनाएका छन । संविधानसभालाई एक साताकोलागि स्वतन्त्र छाडिदिने हो भने मुलुकले संविधान पाउँछ । संविधानका अन्र्तबस्तुमा संविधानसभामा छलफल नगरी बाहिर छलफल गरेर संविधानसभामा लाद्नु असम्बैधानिक, जनविरोधी र प्रजातान्त्रिक मुल्य मान्यता विरुद्धको गतिविधी भएको दावी गर्दै थापाले भने– यही हो संविधानसभाबाट संविधान जारी गर्ने विधी र प्रक्रिया ? यो काम तत्काल रोक्नुस । संविधानसभा कठपुतली खेलौना हो र ? यस्तो अप्रजातान्त्रिक कार्य तत्काल रोकिनु पर्छ । संविधान बनाउने हो भने जे छलफल गर्ने हो संविधानसभामै छलफल गर्नु पर्छ । यस्तो जालसाझीले बन्ने संविधानको भविष्य हुँदैन ।
उनले राप्रपा नेपाल संबैधानिक राजतन्त्र, सनातन हिन्दु राष्ट्र र स्थानीय स्वशासनको पक्षमा भए पनि आफ्नो भाषा शैली अनुसारको संविधान लेखिने अवस्था नरहेकोले संविधानसभामा फरक मत राखेर अघि बढ्ने स्पष्ट पारे ।
अध्यक्ष थापाले सहमति जुटन नसकेका संविधानका विवादित अन्र्तबस्तुलाई थप छलफलकालागि सात दिन संबैधानिक राजनीतिक संबाद तथा सहमति समितिमा पठाएर त्यसपछि संविधान निर्माणको प्रक्रिया सुरु गर्नु पर्ने सुझाव दिदै विगतमा पनि चार दलले संविधानसभालाई छलेको र अहिले पनि त्यो क्रम सुरु भएकोले त्यसप्रति आपत्ति प्रकट गरे।
उनले सूचना टासेर संविधानसभाको बैठक स्थागित गर्ने प्रबृत्ति प्रति आपत्ति प्रकट गर्दै भने– विगतमा पनि संविधानसभालाई यस्तै गरेर लाचार छायाँ बनाउने काम भया अहिले पनि बाहिर निर्णय गरेर संविधानसभामा लाद्ने षडयन्त्र भईरहेको छ ।
अध्यक्ष थापाले दुई तिहाई बहुमत भएको बर्तमान सरकारलाई आफूहरुले राष्ट्रिय सरकारको रुपमा बुझेको भन्दै दलहरुले भन्ने गरेको राष्ट्रिय सरकार कस्तो हो आफूले बुझ्न नसकेको बताए ।
उनले जनताले ओत लाग्ने छाना नपाएको अवस्थामा सरकारले अरु दलको सहयोग लिएर पुर्ननिर्माणमा लाग्नु पर्नेमा प्रमुख दलहरु निर्लज्जतापूर्वक सत्ताको भागबण्डामा लागेको दावी गर्दै राप्रपा नेपाललाई सरकारमा जान जनताले म्याण्डेड नदिएकोले आफूहरु सरकारमा सहभागित नहुने स्पष्ट ारे ।
अध्यक्ष थापाले भने– हाम्रो पार्टी सत्ता केन्द्रीत फोहोरी खेलमा लाग्दैन तर राष्ट्रिय सरकारको योजना, सोच आईसकेपछि त्यस विषयमा निर्णय लिन्छ । यसको अर्थ सरकारमा कहिल्यै जादैनौ भन्ने होईन । सरकार परिवर्तन गर्न आफ्नो २५ सिट प्रयाप्त छैन । उनले प्रमुख दलहरुले भने जस्तो संविधान निर्माण, पुर्ननिर्माण र स्थानीय निकायको निर्वाचनको लागि सहमतिको सरकार आवश्यक नपर्ने ठोकुवा गर्दै भने–भुकम्प बहाना मात्रै हो । विहान बेलुका बालुवाटारको चक्कर काट्नेहरुले सृजना गरेको भ्रममात्रै हो । यही सरकारले गर्न सक्छ ।
यद्यपि अध्यक्ष थापाले भुकम्पपछिको अवस्थालाई सामना गर्न सरकार असफल भईसकेको दावी गर्दै सुशील कोइरालाको ठाँउमा केपी शर्मा ओली ल्याउँदैमा अवस्थामा २० को १९ फरक परे पनि पूर्ण सुधार ल्याउन पद्धतिमै सुधार गर्नु पर्ने आवश्यकता औल्याए ।
उनले भने–अहिले बलियो र स्थिर सरकारको आवश्यकता छ तर त्यसकोलागि आठवर्षअघि बाट भत्काईएको प्रणाली सुधार्नु पर्छ । त्यसकोलागि बलियो प्रतिपक्षको आवश्यकता पर्छ । राष्ट्रिय सरकारको नाममा प्रतिपक्षको भूमिका कमजोर बनाएर पद्धति कमजोर हुन्छ । मुलुकमा पुर्ननिर्माणको साटो निरकुंशता हावी हुन्छ । केही ब्यक्ति र सस्थाले राहत र उद्दारको नाममा धर्म परिवर्तन गराउने र बाईबल वितरण गर्ने काम भईरहेको प्रति घोर आपत्ति प्रकट गर्दै प्रधानमन्त्रीको दवावमा एक धार्मिक सस्थालाई राहत उठाउने र वितरण गर्ने अनुमति दिएको घटनाको निन्दा गरे । उनले भने–यो निर्णय प्रधानमन्त्रीले सच्याउनु पर्छ । यो एकद्धार प्रणालीको उपहास हो । यसले सरकारप्रतिको अलि अलि बचेको विश्वसनीयता पनि गुम्छ ।
प्रतिक्रिया