दक्षिण कोरियामा खतरनाक भाइरस फैलियो, २० मुलुक प्रभावित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७२, बिहीबार १७:२८

सोल, २१ जेठ । दक्षिण कोरियामा मर्सका विषाणु फैलदा ३५ व्यक्तिलाई यसले सङ्क्रमण गरेको छ भने दुई व्यक्तिको यसैका कारण मृत्यु भइसकेको छ । यसका कारण फैलिएको त्रास नियन्त्रण गर्न अधिकारीहरु प्रयासरत भए पनि हजारौँ व्यक्तिले आफ्नो भ्रमण योजना रद्द गरेका छन र सयौँ विद्यालय बिहीबार बन्द भएका छन् । मध्यपूर्व स्वासप्रस्वास लक्षण (मर्स) हाल साउदी अरेबियाभन्दा बाहिर दक्षिण कोरियामा ठूलो रुपमा फैलिएको छ र यसका कारण जनतामा परेको त्रासका कारण बालविद्यालयदेखि कलेजसम्मका सात सयभन्दा बढी शिक्षालय बन्द भएका छन् ।
roogबिहीबार यस रोगका थप पाँच विरामी देखा परेका छन् र यसबाट सङ्क्रमित व्यक्तिको सङ्ख्या ३५ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यस रोगको सङ्क्रमण भएका पहिलो विरामी मे २० मा देखा परेका थिए । ६८ वर्षीय यी पुरुषले साउदी अरेबियाको भ्रमण गरेपछि उनमा यो रोग देखापरेको थियो । यसपछि एक हजार ६६० व्यक्ति यस विषाणुसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्पर्कमा आएको अनुमान गरिएको छ । उनीहरुलाई उपचारका लागि उच्च रुपमा पृथक बनाइएको छ ।
करिब १६० व्यक्तिलाई राज्यले तयार गरेको स्थानमा पृथक राखिएको छ । प्रायःलाई आफ्नै घरमा बस्न र अन्य व्यक्तिसँग भेट नगर्न भनिएको छ ।
सोलमा बस तथा भूमिगत मार्गमा मास्क लगाउने यात्रुको सङ्ख्या बढिरहेको कारण जनतामा यस रोगप्रति त्रास बढेको देखिएको छ ।
सरकारले यस विषयमा स्थापना गरेको ‘मर्स हटलाइन’ मा बुधबार तीन हजारभन्दा बढी व्यक्तिले सम्र्पक गरेका छन् ।
यस्ता समाचारले विदेशमा पनि चिन्ता फैलिएको देखिएको छ र कोरिया पर्यटन सङ्गठन (केटीओ)ले बिहीबार चीन तथा ताइवानबाट करिब सात हजार पर्यटकले आफ्नो दक्षिण कोरिया यात्रा रद्ध गरेको जानकारी दिएको छ । केटीओका प्रवक्ताले यस प्रकारले आमरुपमा भ्रमण रद्द हुने कुरा असमान्य भएको र पर्यटकले मर्सको फैलावट आफ्नो भ्रमण रद्द हुनुको प्रमुख कारण भएको जानकारी दिएको बताए । यस सङक्रमले सेनालाई पनि प्रभाव पारेको छ भने २० व्यक्तिमा यसको लक्षण देखिएकाले उनीहरुलाई पृथक राखिएको छ । दक्षिण कोरियाको वायु सेनाका एक अधिकारीसँग सम्पर्क गर्ने छ व्यक्तिमा पनि मर्स देखिएको छ ।
यी अधिकारी सोलको दक्षिणमा अवस्थित कसान हवाई केन्द्रमा कार्यरत रहेका थिए । यहाँ युएस ५१ औँ युद्धक समूह रहने गरेको छ ।
कर्णेल ब्रुक लियोनार्डले आफ्नो संस्थाको आधिकारिक फेसबुकमा अस्पतालले ओसानमा आउने व्यक्तिको स्वास्थ्य परीक्षण गर्न योजना बनाएको उल्लेख गरेका छन् । यो रोगको फैलावट आरम्भ हुँदा ढिलो पाइला लिएको भनी राष्ट्रपति पार्क गुन हेको प्रशासन तथा स्वास्थ्य अधिकारीहरुको आलोचना भएको छ । बुधबार यस विषयमा स्वास्थ्य अधिकारीहरुसँगको बैठकमा राष्ट्रपति पार्कले यस विषाणुको फैलावट रोक्न सकेसम्म प्रयास गर्न आग्रह गरे ।
मर्सले विश्वभर एक हजार १६१ व्यक्तिलाई सङ्क्रमण गरेको छ भने यसका कारण ४३६ व्यक्तिको मृत्यु भएको छ । यसले साउदी अरेबियासहित २० मुलुकलाई प्रभावित बनाएको छ । यस विषाणु नियन्त्रण गर्न हालसम्म खोप तथा उपचार फेला परेको छैन । उत्तर कोरियाले केसोङ संयुक्त औद्योगिक क्षेत्रमा मर्सको लक्षण रहेका व्यक्ति पहिचान गर्न सकिने ‘थर्मल इमेजिङ क्यामरा’ जडान गर्न आग्रह गरेको र त्यसलाई स्वीकार गरिएको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जानकारी दिएको छ । केसोङ उत्तर कोरियाको सीमाको १० किलोमिटरभित्र पर्छ । त्यहाँ ५३ हजार उत्तर कोरियाली कामदार काम गर्छन् भने करिब ५०० दक्षिण कोरियाली नागरिक प्रत्येक दिन त्यहाँ पुग्ने गर्छन् । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१