काठमाडौं, २० जेठ । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नेपाल क्रिकेट संघ क्यानको कार्यशैलीको कारण गएको ४ वर्षमा नेपाली क्रिकेटको स्तर माथि उठ्नुको सट्टा ओरालो लागेको आरोप लगाउनुभएको छ । बुधबार गरेको अन्तर्क्रियामा खेलकुद मन्त्री पौडेलले क्यानको नेतृत्व सम्हालेकाले राम्रो काम नगरेकाले नेपाली क्रिकेटको ४ वर्षको इतिहास नराम्रो रहेको दाबी गर्नुभएको हो । विगतमा भ्रष्ट नेपाल क्रिकेट संघलाई समर्थन गर्नेले काम गरेको देखाउन क्रिकेट बोर्ड गठनको प्रस्ताव गरेको आरोप समेत उहाँले लगाउनुभयो ।
मन्त्री पौडेलले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामालाई संकेत गर्दै पदीय मर्यादा बिर्सेर विभिन्न खेलकुद संघहरु विघठन गर्दै हिँडेको आरोप समेत लगाउनुभयो । बोर्ड गठन गर्नु, परिवर्तन गर्नु जस्ता काम मन्त्रालयको भएको भन्दै उहाँले लामाकै कारण नेपाली क्रिकेट बर्बाद भएको दाबी गर्नुभयो । कार्याअवधि बाँकी हुँदै मन्त्रालयको ठाडो निर्देशनमा राष्ट्रिय खेलकुद परिषदबाट हटाइएका सदस्य सचिव लामा सर्वोच्च अदालतको आदेशले पुनर्वहाली भएसँगै मन्त्रालय र परिषदको सम्बन्ध बिग्रिएको हो ।
प्रतिक्रिया