पोखरामा पर्यटकका लागि छुटसहितको प्याकेज सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० जेष्ठ २०७२, बुधबार १०:४०

काठमाडौं, २० जेठ । पोखरा जाने आन्तरिक तथा वाह्य पर्यटकका लागि विभिन्न छुटसहित विशेष प्याकेज सार्वजनिक गरिएको छ । पोखरा पर्यटन पुनर्जागरण समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सो प्याकेज सार्वजनिक गरेको हो । समितिका संयोजक गणेशबहादुर भट्टराईले पोखराको पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय रुपमा सकारात्मक सन्देश प्रवाह गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । ‘हामीले पोखरा आउने पर्यटकलाई सबै सेवाहरुमा छुटको व्यवस्था गरिसकेका छौँ । अव पोखरा सुरक्षित छ भन्ने विश्वास दिलाउनका लागि प्रचारात्मक कार्यक्रमहरुलाई अगाडी बढाउनु जरुरी छ ।’ उहाँकाअनुसार आगामी सेप्टेम्बरसम्मको लागि पोखराका होटलमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यसैगरी ट्राभल बसमा २० प्रतिशत, रेष्टुरेन्टमा २० प्रतिशत, टेकिङमा ३० प्रतिशत, प्याराग्लाइडिङ तथा अल्ट्रालाइटमा १५ प्रतिशत, जिप फ्लाइट र बञ्जी जम्पमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

समितिका सहसंयोजक विश्व शंकर पालिखेले पोखराको पर्यटनलाई पुनः गति दिनका लागि खासगरी भारत र चिनका पर्यटकहरुलाई विश्वस्त पार्नुपर्ने आवश्यकता औँल्याउनुभयो, ‘नेपाल आउने पर्यटक अधिकांश पर्यटक भारत र चिनका हुन । पर्यटन प्रवद्र्धनका लागि विशेष गरी यि दुई देशमा प्रचारका लागि जोड दिनुपर्छ ।’

ppppसमितिले यसअघि पोखरा शहरलाई जीवन्त राख्नको लागि योग शिविर, भूमि पूजा, सांगीतिक कार्यक्रम सञ्चालन गरेको थियो । अब छिटटै नै साइकल टूर, टयाथलौन म्याराथन, फुटबललगायतका विभिन्न पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको समितिले जनाएको छ ।
त्यस्तै नेपालको पर्यटन सम्बन्धि सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ छुट्टै मिडिया क्याम्पेन सञ्चालन गर्ने तयारी पनि गरेको छ । जसअन्तर्गत काठमाडौंस्थित विदेशी मिडियाका प्रतिनिधिहरुलाई पोखरामा फाम ट्रिप गराइसकिएको र अब काठमाडौंस्थित पर्यटन पत्रकारहरु, भारत र चाइनाका पत्रकारहरुलाई पोखरा फाम ट्रिपको लागि आमन्त्रण गर्ने कार्यक्रम तय गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
यसैगरी, समितिले नेपाल सरकार, विभिन्न विदेशी कुटनीतिक नियोगसँग समन्वय गरी पर्यटन पुनर्जागरणका लागि विभिन्न कार्यक्रम गर्नेछ ।
समितिले भूकम्पबाट पीडित जिल्लाहरुमा करोडौंको राहत वितरण गरिसकेको छ भने प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रु. ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । समितिले अहिलेसम्म रेस्क्यु, रिलिफ, हेल्थ तथा रिकन्स्ट्रक्सन उपसमिति बनाएर भूकम्पपीडितहरुको सहयोगार्थ रक्तदानलगायतका कार्यक्रम समेत सञ्चालन गरिसकेको छ । त्यसको अलावा आगामी दिनमा कास्की, तनहु र लमजुङमा कम्तिमा एक विद्यालय बनाउने तथा केही भत्केका घरहरुको पुननिर्माण गर्ने कार्यक्रम तय गरिएको छ ।
महाविनासकारी भूकम्प आएको भोलिपल्टै राहत तथा उद्दार गर्ने उद्देश्यका साथ गठित समितिमा पोखरास्थित टान, नाट्टा, हान, पोखरा पर्यटन परिषद, नेपाल पर्यटन बोर्डलगायत पर्यटन सम्बद्ध सबै संघसंस्थाहरुको प्रतिनिधित्व रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१