धमिलो सम्झनामा राजा ‘विरेन्द्र’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ जेष्ठ २०७२, मंगलवार १३:४६

“हजुरआमा, यो कसको फोटो हो ?” मैले २ रुपैयाँको नयाँ नोटको फोटो देखाउदै सोधे। “राजाको हो कान्छा” हजुरआमाले म तिर हेर्दै भन्नु भो। “राजा भनेको के हो हजुरआमा ?” मैले किच्किच गरिराखे। “राजा भन्या भगवान हुन कान्छा । हामी सबैको मालिक हुन। उनले जे भन्यो हामीले त्यही मान्नुपर्छ। त्यही भएर उनको फोटो सबै पैसामा हुन्छ।” हजुरआमाले राजा पुराण सुनाउनु भो। मैले सोचें ‘राजा छन् र त पैसा बन्छ नत्र कसको फोटो हुन्थ्यो र ?’ “राजाको नाम के हो हजुरआमा ?” मैले फेरी सोधे। हजुरआमा टमाटर टिप्दै हुनुहुन्थ्यो। टमाटर टिपेर डालोमा राख्दै भन्नु भो, “अहिलेको राजाको नाम विरेन्द्र हो, उनीभन्दा अगाडि उनका पिता महेन्द्र नेपालको राजा थिए।” मलाई हजुरआमाको यही बानी मन पर्दैनथ्यो, चाहिने भन्दा बढी बोल्ने। आजकाल यो बानी मलाई सरेको छ। मैले राजाको फोटो हेरे। गोलो गोलो चस्मा लगाएको, हाम्रो बुवाको जस्तै जुँगा पालेको, सबै फोटोमा हाँसिराख्ने राजा मलाई साच्चै मन पर्‍यो।  म २ रुपैयाँको नोट खुत्रुकेमा हाल्न कुदे।

पछाडि हजुरआमा कराउदै हुनुहुन्थ्यो, “कट्टु त लगा”। यत्रो बुढो भइसक्यो अहिलेसम्म कट्टु लगाउदैन। ” हो यसरी कट्टु लगाउन सिक्नु अगाडि मैले विरेन्द्रको नाम सिकेको थिए।

“हाम्रो देशको राजाको नाम के हो ?” भण्डारी सरले सोध्नु भो। “विरेन्द्र” मैले दाँयाबाँया केही नसोची फ्याट्ट उत्तर दिए। सिमालीको हरियो काँचो सिर्कनो नचाउदै सर मेरो छेउमा आउनु भो। मैले केही सोच्न नभ्याउदै धडाधड मेरो ढाडमा २ स्वाट लगाउनु भो। म हुरुक्कै भए। मुत आउँला आउँला जस्तो भो। मैले पछी ठुलो भएर मास्टर हुने अनी भण्डारी सरको छोरालाई यसरी नै कुट्ने सोच बनाए। “राजाको नाम काड्छस पाजी ? पुरा नाम भन् ‘श्री ५ महाराज धिराज विरेन्द्र वीरबिक्रम शाहदेव ‘ भन। ” भण्डारी सर पड्किनु भो। म मसी पोखिएको जस्तो निलो अनुहार बनाएर रुदै थिए।
त्यसपछि मैले राजाको पुरा नाम थाहा पाए।

त्यसपछि प्रत्येक दिन रेडियोमा म राजाको नाम सुनिराख्थे। राजा विरेन्द्रको भारत सवारी भयो, मौसुफले माओवादी बिरुद्ध सेना निकालिबक्सिएन आदी । म कुनै पनि समाचार बुझ्दिनथे तर पनि ध्यान दिएर सुन्थे। मलाई राजा एकदमै मन पर्थ्यो। “ठुलो भएपछि के गर्छस त कान्छा?” हजुरबाले सोध्नुहुन्थ्यो। “धेरै पैसा कमाउछु।” म नाङ्लो जत्रो हात फिजारेर देखाउथे। “कती धेरै ?” हजुरबा टन्नै दुध हालेको चिया आन्द्रासम्म पुग्नेगरी तान्दै भन्नुहुन्थ्यो। मलाई चिया खाँदाखेरी निकालेको त्यो आवाज एकदमै मन पर्थ्यो। “५०० रुप्पे।” म देब्रेहातको ५ वटै औंला देखाउदै एकदमै सानले भन्थे।

५०० रुप्पेमा धेरै पैसा हुन्छ अनी सबै पैसामा राजाको फोटो हुन्छ। राजा छन र त पैसा छ। हजुरबाले कती पैसा कमाउछस भनेर सोध्ने बित्तिकै म ५०० रुप्पे भन्थे। अनी ५०० रुप्पे भन्ने बित्तिकै म राजा र उनको फोटो सम्झिन्थे। “हाम्रो राजा त मरे अरे नि ?” आचार्य माइलोले पिल्पिलाउदो अनुहार बनाउदै भन्यो।

म बाख्रा लिएर खोलाछेउ ग’को थे। मुङ्ग्रो उचालेर आलीमा राख्दै मैले भने,” थुइक्क पापी, राजाको बारेमा जे पायो त्यही बोल्छस ? अलच्छिना। राजा कहिले पनि मर्दैनन।” मैले गाउँको आईमाईहरु झगडा गर्दा बोल्ने शब्दहरु सबै बोले। “तैले त नर्कमा नि ठाउँ पाउदैनस।”  अरुबेला मैले यती कुरो भनेको भए माइलोले मेरो नाथ्री फुट्नेगरी हान्थ्यो। आज त केही नि गरेन। तै पनि भरे घाँटी न्याक्छ कि भनेर म घरतिर टाप कसे।
घर पुग्नेबित्तिकै देखे ए आम्मा गाउभरिको सबै मान्छे त हाम्रै घरमा पो भेला भ’का र’छन्। मनमा चिसो पस्यो। बुवा आँगनको बिचमा भ’को मियोको छेउमा बसेर पानासोनिक रेडियोको कान बटार्दै हुनुहुन्थ्यो। भुइँमा गुन्द्री ओछ्या’को थियो। अनी हजुरआमा, आमा, काकी, गितेकी आमा, हेड्सर्नी अनी अरु सबै आईमाईहरु भुइँमा बसेर रुदै थिए। भण्डारी सर हजुरबा को छेउमा नुन खा’को कुखुरो जस्तै झोक्राएर बसिरा थिए। सरलाई देख्ने बित्तिकै मलाई डर लाग्यो।

म ट्वाँ परे। परिराखे। सबैजना रो’को देखेर मलाई नि रोउँ,रोउँ लाग्यो। अरुबेला घर पुग्नेबित्तिकै कान्छा चिया खान आइज भन्थे। आज त कसैले नि वास्ता गरेन नि। हैन भ’को चै के हो। मलाई कसैले नि भनेन। “खोइ त टुँ मात्रै गर्छ। केही पनि बोल्दैन त।” घिमिरे दाईले बुवाको हातको रेडियो देखाउदै भने। मैले ध्यान दिएर सुने। मान्छे मर्दा एकोहोरो शंख बजाएजस्तो रेडियो टुँ गर्दै थियो।
“खोइ के भ’को हो तेस्को ठाँडो ?” हजुरबाले झर्केर भन्नु भो। बुवा केही बोल्नुभएन। खाली एरिएल यताउता चलाएर बस्नु भो। म लाडिदै हजुरआमाको छेउमा गए। हजुरआमा बच्चाजस्तै डाँको छोडेर रुदै हुनुहुन्थ्यो।हजुरआमा रो’को देखेर मेरो आँखा पनि पिल्पिलाए। आमा, काकी हरु चै सुँक्क(सुँक्क गर्दै हुनुहुन्थ्यो।

मलाई देख्ने बित्तिकै हजुरआमाले ग्वाम्लाङ्ग अँगालो हाल्नु भो। जेठको गर्मीमा हजुरआमाको जिउको पसिना ह्वास्सै गनायो। “कान्छा, हामी टुहुरो भयौं नानी। हाम्रो भगवानले हामीलाई छोडेर जानु भो। राजा सक्किए कान्छा, राजा सक्किए।” हजुरआमाले ठुलो स्वरमा भन्नु भो। हजुरआमाको बोली भुइँमा झर्ने बित्तिकै घरमा भेला भ’का सबै आइमाइहरु कोकोहोलो गर्दै रुन थाले। भण्डारी सरको बुढी पनि रुदै हाम्रो घरतिर आउँदै थि’न। सबैजना रो’को सुनेर बकाइनोको रुखमा बसेको रुप्पी तर्सेर उड्यो।

राजा सक्किए भन्ने कुरो सुन्ने बित्तिकै मलाई भाउन्न भयो। हुरुक्कै भए। म हजुरआमासँग कम्पिटिसन गर्दै रुन थाले। हजुरआमाको काखमा बसेर म रुदै थिए। पर सिसौको रुख छेउबाट आचार्य माइलो र उस्की बैनी मलाई रुन्चे अनुहार ला’र हेर्दै थिए।

मलाई अरुको अगाडि रुन मन लागेन। काखबाट जुरुक्क उठे। पर भकारी छेउको खेतमा गए अनी रुन थाले। म लडिबडी गर्दै रुदै थिए। आँखाबाट आशुँ, नाकबाट सिँगान र मुखबाट राल एकैचोटी निक्लिदै थियो। मेरो घाँटी बसिसकेको थियो। र पनि म रुदै थिए। म माटोमा लडिबडी गर्दै थिए, त्यसैले गालाभरी र लुगाभरी माटो लागेको थियो। मुखभरी कत्ला थियो। म झन् चिच्याइ चिच्याइ रुन थाले तर मलाई फकाउन कोही आएन। राजा मरेपछी कस्को फोटो पैसामा आउँला ? मैले रुदारुदै सोचे। मलाई त ठुलो मान्छे भ’र ५०० रुप्पे कमाउनु थियो। राजाको फोटै नभए’सी कसरी पैसा बन्छ ? अब मैले धनी हुन नपाउने भए। झन रुन मन लाग्यो। धेरै पैसा कमाउन पाउदिन भन्ने थाहा पाएपछी त घाटी दुखिन्जेल रोए। बिहान खा’को अमिलो मोही र चिउरा मुखबाट निक्लियो।

छोरामान्छे भ’र रुनु हुँदैन भन्थे तर मैले त छादिन्जेल रोए। आवाज निक्लिन कम भए’सी सुपारिको बोट छेउमा बसेर हिक्क(हिक्क गरेको सम्मा याद छ। कतिखेर निदाएछु केही थाहा छैन। एकैचोटी बराण्डाको खाटमा उठेको थिए। पछी हजुरआमाले भन्नु भ’को म बिहोश भ’को थिए रे।

biran“कान्छाको त ब्रतबन्ध गरेको छैन यस्को चै नकाटे नि हुँदैन ?” आमाले एकदम मसिनो आवाजमा मेरो कपाल मुसार्दै भन्नु भो। “राजा भनेका हामी सबैका बाउ हुन। बाउ मर्दा कपाल नखौरे कहिले खौरिनु ?” हजुरबा एकदम ठुलो स्वरमा कड्किनु भो। आमा केही बोल्न सक्नु भएन।

हजुरबा, बुवा, हेड्सर, काका, आचार्य माइलो अनी गाउँ भरिका सबै लोग्नेमान्छेले आफ्नो कपाल खौरिसकेका थिए। हजुरबा मेरो पनि कपाल खौरिन खोज्दै हुनुहुन्थ्यो। “लु कान्छा, अब यता आइज” हजुरबाले बोलाउनु भो। मैले हजुरबातिर हेरे। हजुरबाको आँखा रातो थियो। हजुरबा पनि रुनु भो त ?

हजुरबाको अगाडि गएर टाउको निहुराएर बसे। मेरो टाउको माथि ब्लेड चल्दै थियो। बेलाबेला पोल्थ्यो। टाउको काटिएको बेला हजुरबा मुखबाट कस्तो कस्तो आवाज निकाल्नु हुन्थ्यो। म नाकबाट सिँगान चुहाँउदै सबै सहेर बसे। चुइक्क बोलिन।

“दीपेन्द्रले मारेको भन्छन रे ? एउटा पत्याउने कुरो हुन्छ नि। आफ्नै छोराले बाउ मार्छ ? झन तेत्रो पढेलेखेको युवराजजस्तो मान्छेले। ” चोकको चिया दोकानमा ओली बाबैले भने। म त्यही बाटो स्कुल जादै थिए। “केटिको निहुँमा मारेको भन्छन् नि त।” अधिकारी पण्डितका छोराले भने। राजा मरेको १ हप्ता जती भइसकेको थियो। तर पनि कस्ले मारेको हो भनी कसैलाई थाहा थिएन।
“भुत्राको केटीको निहुँ ? कसैले केटीको निहुँमा आफ्नै बाउआमा मार्छरु तपाईं आफ्नो बाउलाई मार्न सक्नुहुन्छ ?” हजुरबाले ठुलो आवाजमा पण्डितको छोरालाई थर्काउनु भो। सबै मुखामुख गर्न थाले। कसैले हजुरबाको बिरोध गर्न सकेन।

“त्यसोभए कस्ले मार्यो त ? माओवादीले ?” चिया दोकाने न्यौपाने दाईले सोधे। मलाई माओवादी सुन्ने बित्तिकै डर लाग्यो। माओवादी भनेका कलियुगका राक्षस हुन भन्थे सबैजना। परबाट ढुंगानाको छोरो आउँदै थियो। म त्यसैसँग स्कुलतिर हिंडे।

“हाम्रो देशको राजाको नाम के होरु” भण्डारी सरले फेरी सोध्नु भो। “ज्ञानेन्द्र” मैले जुरुक्क उठेर छाती फुलाउदै भने। भनिसकेपछी पछुताए। मैले त श्री ५ महाराजधिराज भन्नै बिर्सेंछु। म कुटाइ खान रेडी भए। भण्डारी सर मेरो छेउमा आउनु भो अनी मेरो तालु मुसार्नु भो। केही पनि नगरि बस भन्नु भो। मलाई भण्डारी सर असल मान्छे हुन जस्तो लाग्यो।

-अज्ञात लुईटेल

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१