भोजपुर, १८ जेठ । भोजपुर सदरमुकाममा दूध तथा दूधजन्य पदार्थको अभाव देखिएको छ । कृषकले नै दूध उपलव्ध गराउन छाडेपछि दैनिक १ हजार लिटर दूध तथा दूधजन्य पदार्थ बिक्री हुने भोजपुरमा मुस्किलले २ सय ५० लिटर मात्र दूध उपलब्ध हुँदै आएको छ । भोजपुर सदरमुकाममा ३ वटा डेरीले दूधजन्य पदार्थको बिक्री वितरण गर्दै आएका छन् । वैशाख जेठमा दूधको उत्पादन कम हुने भएकाले कृषकहरूले दूध उपलब्ध गराउन नसकेका हुन् । कृषकले पर्याप्त उत्पादन गर्न नसक्दा बजारमा दूध तथा दूधजन्य परिकारको अभाव भएको हो ।
यहाँको दूध संकलन तथा बिक्री केन्द्रमा दाँवा, भैंसीपंखा, टक्सार, बोखिमलगायतका स्थानबाट कृषकहरूले ३ घण्टासम्म लगाएर दूध बिक्रीका लागि ल्याउने गरेका छन् । एकै कृषकहरूले दैनिक २५ लिटरसम्म दूध बिक्री वितरण गर्दै आए पनि निरन्तरता दिन भने सकेका छैनन् । गएको वैशाख १२ र २९ को भूकम्प र त्यसपछि पटक–पटक आउने पराकम्पले गर्दा पनि कृषकले दूध आपूर्ति गराउन सकेका छैनन् । जसका कारण दूधको थप अभाव भएको हो । दूध नपाइने डरले सदरमुकामवासी बिहानैबाट डेरीमा लाइन लाग्ने गरेका छन् ।
प्रतिक्रिया