काठमाडौं,१८ जेठ । संविधानका विवादित विषयमा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको चारदलका शीर्ष नेताको बैठक संघीयतामा कुरो नमिलेपछि विनानिश्कर्ष टुंगिएको छ । बैठक मंगलबार फेरि बस्ने शीर्ष नेतावीच सहमति भएको छ । आन्तरिक छलफल र वार्ता गरेर सहमतिको वातावरण बनाउने र मंगलबार बिहान पुनः शीर्ष बैठक बसेर राज्य पुर्नसंरचनालगायतका संविधानका विवादित विषय र राष्ट्रिय सरकार गठनका बारेमा एउटा निश्कर्षमा पुग्ने समझदारी भएको छ। आइतबारको बालुवाटारको बैठक पनि यस्तै समझदारी गरेर टुंगिएको थियो तर सोमबार बिहान केही भएन।
संविधान लेखनमा सबैभन्दा विवादित राज्य पुनरसंरचनाको विषयलाई आज टुंगो लगाउने भनिए पनि सोमबारको बैठकमा केही सहमति हुन सकेन। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दस प्रदेश अडानमा केही तलमाथि भए पनि पहिचान पूर्ण रुपमा छोड्न नसकिने बताएका थिए। बैठकपछि बाहिरिने क्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले छलफल सकारात्मक भएको र एक महिनामा नयाँ संविधान जारी गरी राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको प्रतिक्रिया दिए । बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारको सहभागिता थियो । राष्ट्रिय सरकार गठन एवं संविधानका विवादित विषयमा जेठ २० भित्र टुंगो लगाउन चार नेता छलफलमा जुटेका हुन् ।
प्रतिक्रिया