पोल्ट्री क्षेत्रमा दैनिक चार करोड नोक्सान,धरासायी हुने अवस्थामा पोल्ट्री व्यवसाय

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ जेष्ठ २०७२, आईतवार १६:३५

चितवन, १७ जेठ । आत्मनिर्भर बन्दै गएको नेपालको पोल्ट्री व्यवसाय भूकम्पले प्रभावित बनेको छ । गएको वैशाख १२ गते आएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण देशको राजधानी काठमाडौँ र छिमेकी जिल्लाहरु पूर्णरुपमा प्रभावित भएपछि यसको प्रत्यक्ष असर पोल्ट्री व्यवसायमा परेको छ । नेपालको कुल उत्पादनको ६० प्रतिशतभन्दा बढी खपत काठमाडौँ र आसपासका क्षेत्रमा हुने गर्दछ । भूकम्पपछि त्यस क्षेत्रमा अस्थायी बसोबास गर्नेहरु बाहिरिएको र स्थानीयको क्रयशक्ति कम हुँदा पोल्ट्रजन्य पदार्थ खपत हुन सकेको छैन । यसका कारण यो व्यवसायमा हाल प्रत्यक्ष रुपमा दैनिक रु चार करोड ३० लाखभन्दा बढीको नोक्सान भइरहेको व्यवसायीको भनाइ छ । पोल्ट्री व्यवसायीका अनुसार देशभर अन्डामा दैनिक रु ८० लाख, चल्लामा रु एक करोड ५० लाख र मासुमा रु दुई करोडभन्दा माथि नोक्सान हुँदै आएको छ । खपतमा कमी आएसँगै अन्डा उत्पादक सङ्घले भूकम्प प्रभावितलाई राहतसमेत हुने गरी खुद्रा मूल्य प्रतिवटा रु १२ बाट रु आठमा झारेको छ । देशभरमा दैनिक नौ हजार पाँच सय पेटी अन्डा उत्पादन हुन्छ । एक पेटीमा सात क्रेट हुन्छ । हालको बजार मूल्य प्रतिक्रेट रु दुई सय ४० छ ।

henसङ्घका अध्यक्ष शिवराम केसीका अनुसार यो मूल्य सामान्य अवस्थामा तीन सय ६० पुगेको थियो । जसबाट दैनिक प्रतिक्रेट रु एक सय २० नोक्सान भएको छ । ‘अन्डामा दैनिक रु ७९ लाख ८० हजार प्रत्यक्ष नोक्सान भएको छ’ उनले भने । बिक्री हुन नसकेर डम्पिङ गर्नुपर्दा झन ठूलो घाटा व्यहोर्नुपरेको उनको भनाइ छ । लागत मूल्य धान्ने गरी बजार मूल्य बढाएर कृषकलाई राहत दिने विषयमा छलफल भइरहेको छ । भूकम्प प्रभावितका लागि सहयोग पुर्याउन ठूलो नोक्सान खपेर पनि बजार मूल्य घटाइएको छ ।

त्यस्तै कुखुराको मासुमा दैनिक दुई करोडभन्दा बढी घाटा भएको पोल्ट्री व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिव बरालले बताए ।नेपालमा दैनिक पाँच लाख किलो मासु बिक्री हुँदै आएकामा हाल घटेर चार लाख किलो मात्रै खपत हुँदै आएको छ । प्रतिकिलो ५० किसानले नोक्सान व्यहोरेको उनले बताए । नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घका अध्यक्ष भुवनलाल जोशीले व्यहोर्दै आएको नोक्सानलाई परिपूर्तिका लागि बजार सुधार अभियानमा सङ्घ लागेको बताए । लामो समय यो नोक्सान कृषकले धान्न नसक्ने उनको भनाइ छ । देशभर सातामा २६ लाख ५० हजार चल्ला उत्पादन हुन्छ । विगतमा ७० प्रतिवटामा बिक्री हुँदै आएको ब्रोइलर चल्ला अहिले २५ को हाराहारीमा मात्रै बिक्री हुँदै आएको ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ऋषिराम पौडेलले बताए । यसैगरी एक सय २५ मा बिक्री हुँदै आएको लेयर्स चल्ला अहिले २० देखि रु ३० सम्ममा बिक्री हुँदै आएको छ । कतिपय चल्ला बिक्री नभएर डम्पिङ गर्नुपर्ने अवस्था रहेको छ । प्रतिचल्लामा ४० को हाराहारी नोक्सान छ । यस हिसाबले दैनिक एक करोड ५० लाखभन्दा बढी नोक्सान भएको पौडेलले बताए ।

प्रत्यक्षसँगै अप्रत्यक्ष रुपमा ठूलो नोक्सान भएको पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्करप्रसाद कँडेलले बताए । सङ्कटको समयमा राज्य संयन्त्रबाट सहयोग हुन नसके व्यवसाय धरासायी हुने कँडेलको तर्क छ । मासु, अन्डा र चल्लाको बिक्री मूल्य घटेसँगै यसको प्रभाव दाना, औषधिलगायतका क्षेत्रमा पनि पर्ने व्यवसायीहरु बताउँछन् । देशभरमा पोल्ट्री व्यवसायमा ६० अर्बभन्दा बढीको लगानी रहेको व्यवसायीहरुको भनाइ छ । जसमध्ये आधाभन्दा बढी लगानी चितवन जिल्लामा मात्रै छ । नारायण अधिकारी,रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१