काठमाडौं,१७ जेठ । नयाँ राष्ट्रिय सरकार बनाउने विषयमा दलहरु औपचारीक छलफलमा नै प्रवेश गरेका छन् । भूकम्पपछिको पुनःनिर्माणमा सँगै रहेका दलहरु अब संविधान निर्माणका लागि पनि सरकार गठनमा सहमत भएका हुन् । तर संविधानका विषयमा सहमतिपछि राष्ट्रिय सरकार वा सरकारसँगै संविधान बन्नेमा कुरा मिल्न सकेको छैन । दुईपक्षीय छलफलमा रहेका दलहरु आज सरकार गठनका विषयमा साझा सहमति जुटाउन सामुहिक छलफलमा बस्दैछन् । दिउँसो प्रधानमन्त्रीको सरकारी निवासमा हुने छलफलमा विभिन्न विकल्पमा छलफल हुनेछ ।
नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीका शिर्ष नेताहरुबीच छलफल हुन लागेको हो । वैशाखको पहिलोसाता शक्तिशाली भूकम्पपछि बसेको संसद बैठकमा पूर्वप्रधानमन्त्रीहरुले राष्ट्रिय सरकार गठनमा जोड दिएका थिए । त्यस यता राष्ट्रिय सरकार गठनको कुरा उठ्दै आए पनि सरकारको स्वरुपको बारेमा टुंगो लाग्न सकेको छैन । सुशील कोइराला नेतृत्वको सरकार गठनअघि एमाले र काङ्ग्रेसबीच भएको ७ बुँदेसहमतिमा संविधान जारी भएपछि सरकार परिवर्तन गर्ने सहमति भएको थियो । कांग्रेसले भने संविधान सुनिश्चितता नभएसम्म सरकार गठन नहुने जनाइसकेको छ । एमाले कांग्रेसले सरकार गठनपछि संविधान जारी गर्ने सोच बनाएका छन् ।
प्रतिक्रिया