‘प्राकृतिक विपतीहरु बाजा बजाएर आउँदैनन्’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७२, बिहीबार १४:०४

ज्ञानमणि नेपाल कालोटोपी

नेपाल भुकम्पिय जोखिममा सबैभन्दा अगाडि रहेको हालै गएको भुकम्पले देखाइसकेको छ । विगतमा गएका भुकम्पका त्रासदीहरुले अव आउन सक्ने दुर्घटनालाई पनि संकेत गरिरहेको भएपनि यस तर्फ सर्तकता नअपनाईएकाले यतिबेला नेपालले भुकम्पको ठूलै क्षती भोग्नु परेको आलो घाउ हामी सँग ताजै छ । अहिले नेपालका कुनै पनि जिल्ला सुरक्षित छैनन् । विशेष गरि काठमाडौं उपत्यका त झन सबैभन्दा धेरै क्षति हुन सक्ने क्षेत्रको रुपमा रहेको छ । अर्थात अर्को शब्दमा भन्नु पर्दा समग्र नेपाल उच्च भुकम्पिय जोखिममा छ ।
हुन त नेपालमा दैनिक ३ वटा सम्म साना भुकम्पहरु गइरहने गरेको एक तथ्याङ्कले देखाएको छ । यी भुकम्पहरु हामीले खासै पत्तो पाउँदैनौं । जुन भुकम्पको पत्ता पाउँछौं त्यसले ठुलै विनास बोकेर आउने गरेको हामीले देखे भोगेकै विषय भएका छन् । विश्वमा पटक–पटक ठूला भुकम्पहरु गएको र यसले धेरै नै धनजनको क्षति भएका विषयहरु हामीले सुन्दै आएका छौं । यस्तै नेपालमा पनि मानवीय क्षति हुने गरि धेरै पटक त्रासदीपूर्ण भुकम्पहरु गएका छन् ।
अहिले सम्म फेला परेको रेकर्ड अनुशार नेपालमा वि.सं. १३१० मा ठूलो र विनासकारी भुकम्प गएको देखिन्छ । यसमा के कति क्षति भयो त्यसको यर्थाथ तथ्याङ्क नभए पनि यसले ठूलै नोक्सान पु¥याएको हुनसक्ने इतिहासविदहरु बताउँछन् । यस विचमा साना ठूला धेरै भुकम्पहरु गएका भएपनि वि.सं. १८९० मा पनि अर्को ठूलो मानविय र भौतिक क्षति हुने गरि भुकम्प गएको देखिएको छ । यसको ठ्याक्कै १ सय वर्ष पछि वि.सं. १९९० सालमा गएको भुकम्पका प्रत्यक्षदर्शिहरु अहिले पनि नेपालमा छन् । यस भुकम्पले धेरै नै क्षति भएको उनीहरुको भनाई छ । इतिहासले बताए अनुशार माघ २ गते दिउसो २ बजे गएको यो भुकम्पको मापन ८.४ रेक्टर स्केल थियो । सो भुकम्पको केन्द्रविन्दु पूर्वी नेपालको संखुवासभाको चैनपुर रहेको थियो । यसमा ३८५० पुरुष र ४६६९ महिला गरि ८५१९ मानिसको मृत्यु भएको थियो । यस मध्ये काठमाडौं उपत्यकामा मात्र ४२९६ जनाको मृत्यु भएको थियो भने २,०७,७४० घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका थिए ।
gyanmaniयो भुकम्पको यर्थाथ उतार्ने क्रममा श्री ब्रम्ह शमसेर जबरा द्धारा लिखित ९० सालको भुकम्प नामक पुस्तकमा यी कुरा उल्लेख गरिएको छ – ‘होस हवास हराएको २ मिनेट पछि आँखा खोलेर हेर्दा चारै तिर प्रलयको दृष्य , प्रलयको कोकोहलो स्वरले चिच्याउन र कराउन लागेको देखियो , सुनियो । मानिसको त के कुरो मानिसका शरणमा परेका चराचुरुङ्गीहरु पनि च्याँ–च्याँ र चुँ–चुँ गरि आकाशमा कराउन लागेका थिए । मुसा जस्तो छरितो जन्तुले पनि भाग्ने मौका पाएन , जहाँको त्यहिं थिचिएर मर्नु प¥यो । छोराको सबै शरिर किचिरहेछ , मुख पक्क–पक्क बाएको र्इंटाको अन्तरबाट अलि–अलि देखिन्छ । आ…मा भनेको मलिन आवाज पनि अलि–अलि सुनिन्छ । ईंटा–काठ पन्छाएर छोरो झिक्ने मद्दत पुग्दैन । यस्तो अवस्थामा त्यस अभागि आमाको तस्विर खिच्नुहोस् । जहानमा ११ जना थिए , सबै किचिएर मरे । एउटा ५ वर्षको बालक बाँच्यो । यो टुहुरोको सम्झना गर्नुहोस् । विवाह गरेको वर्ष दिन भएको छैन , १५ वर्ष कि बाहुनी विधवा भई । यसले छाती पिटि–पिटि रोएको करुण क्रन्दनको विचार गर्नुहोस् । जहानमा कसैको टाउको फुटेको छ , कसैको हात भाँचिएको छ । कुनै बेपत्ता छन् । कसैलाई खोस्रेर झिक्दै छन् , कसैलाई पोल्न लगिसके । घ्याम्पो फुट्यो , अन्नको गेडा छैन । घरमा मुर्दा लडिरहेछ, कात्रो किन्न जाने पसल छैन । दाउरा किन्न पैसा छैन । घर भत्किएका काठले मुर्दा पोलिए । बाबु म¥यो , छोराले किरीया गर्न कपाल खौरनका लागि छुरा पाएन । पुरेत बाजे सँग किरीया गराउने पुस्तक छैन । रात प¥यो झरीको डर । ओत लाग्ने कुनै ठाउँ छैन । मुर्दाको सद्गत गर्न घाटमा ठाउँ छैन । नसक्नेले मरेका लासहरु त्यसै फाल्नु पर्ने अवस्था छ । गाईवस्तुको त कुरै छोडौं ।! ’
वि.सं. १९९० को भुकम्पको यो त्रासदी पछि यसको ५५ वर्ष पछि अर्को भुकम्पले नेपालमा तहल्का मच्चाएको इतिहास बताउँछ । त्यो दिन २०४५ भदौ ५ गते हो । पूर्वी नेपालको उदयपुर केन्द्रविन्दु रहेको यस भुकम्पको मापन ६.६ रेक्टर स्केल रहेको थियो । विहानीपख गएको यो भुकम्पले ४० सेकेण्ड पुरै नेपाल हल्लाएको थियो । यसमा ७२१ जनाले ज्यान गुमाएका थिए । ६५ हजार घरहरु ध्वस्त भएका थिए । तत्कालिन श्री ५ को सरकारले भुकम्पले भत्काएका घरहरु पुर्ननिर्माणका लागि जनतालाई आर्थिक सहयोग गरेको थियो । यसपछि धेरै पटक अन्य भुकम्पहरु गएका भए पनि पछिल्लो पटक ०६८ असोज १ गते गएको अर्को भुकम्पले पनि नेपालमा मानविय र भौतिक क्षति पु¥याएको हामी सबैमा विदितै छ ।
यो त केहि पुराना भुकम्पको इतिहास भयो । वर्तमान तिर हेर्ने हो भने ०७२ बैशाख १२ गते गएको ७.६ रेक्टर स्केलको विनासकारी भुकम्प हामी सबैले भोग्यौं । गोर्खामा केन्द्रविन्दु रहेको यस भुकम्पले ८ हजार मानिसहरुको ज्यान गयो । २० हजार भन्दा वढी घाइते भए । ५ सय भन्दा वढी अहिले पनि हराइरहेका छन् । हजारौंको संख्यामा पशुपंक्षी मरे । ३ सय ५० वटा ऐतिहासिक संरचना पूरै ध्वस्त भए । ३ लाख घरहरु पूर्ण रुपमा भत्किए भने अरु २ लाख घर पनि बस्न नमिल्ने अवस्थामा छन् । निरन्तर १५ दिन सम्म भुकम्पले त्रास दिइरह्यो र अहिले पनि दिइनै रहेको छ । यस विचमा साना–ठूला ९ सय वटा भुकम्पहरु गएको हामीले प्रत्यक्ष देख्यौं र भोग्यौं । विदाको दिन र दिउसोको समय भएकोले मानवीय क्षती भुकम्पको मापन अनुशार कम भएको र यदि यो रातीको समयमा गएको भए लाखौं मानिसहरु मर्न सक्ने विज्ञहरुको अनुमान छ । यसले ३० वटा जिल्लाहरुलाई प्रत्यक्ष प्रभावित बनायो । ११ जिल्लाहरु त पुरै अस्त व्यस्त छन् । सबैभन्दा वढी सिन्धुपाल्चोकमा मानवीय क्षती भयो । अहिले सम्म भेटिएको मध्ये यो जिल्लामा मात्र मर्नेको संख्या ३ हजार ५७ छ । ६६ हजार घर मध्ये ६० हजार पुरै भत्किए । अन्य जिल्लाहरुमा पनि अर्वौंको क्षती भयो । त्रास अझै कायम छ । ठ्याक्कै १९९० सालको अवस्था भयो । यसले भौतिक, मानविय र आर्थिक क्षती कति गरायो अझै मापन गर्न सकिएको छैन ।
हुन त वाढि पहिरो , भुकम्प लगायतका प्राकृतिक विपतीहरु बाजा बजाएर आउँदैनन् । तर सर्तकता अपनाउने हो भने यिनीहरुले गर्ने क्षतिमा भने कमी ल्याउन सकिन्छ । पछिल्ला दिनहरुमा नेपालमा निर्माण हुदै आएका घरहरु भुकम्प प्रतिरोधात्मक छैनन् । प्रतिश्पर्धात्मक रुपमा बनाइएका यी घरहरुले कुनै पनि बेला मानिसहरुलाई मृत्युको शिकार बनाउन सक्ने विज्ञहरुको भनाई छ । पुराना घरहरु र नयाँ बनिरहेका कमजोर संरचनाले पनि भुकम्पको क्षति बढाएको निश्चित छ । यतातिर नसोच्ने हो भने वाढीपहिरोले जस्तै भुकम्पले पनि अझै ठूलो विनास निम्त्याउने छ, निम्त्याइरहेको पनि छ । अव पनि बैशाख १२ को जस्तै ठूलो भुकम्प दोहोरियो भने सबै भन्दा वढी राजधानीमा मानविय र भौतिक क्षति हुनसक्ने अध्ययनले देखाएको छ । यसो भयो भने करिव १ लाख भन्दा वढी मानिसहरु मर्न सक्छन् । अर्वौं रुपयाँका घर र भवनहरु अझै भत्कन सक्ने छन् । यी र यस्ता भवितव्यहरुबाट बच्न मानिसले अहिले देखि नै सर्तकता अपनाउन जरुरी रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१