यार्सा टिप्‍न विद्यालय बन्द

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७१, मंगलवार ०६:४१

मुगु ,६ जेठ । यार्सागुम्बा टिप्न विद्यार्थी मुगुको पाटन क्षेत्रतिर लागेपछि पाँच गाउँका शिक्षक विद्यालय बन्द गरेर सदरमुकाम गमगढी झरेका छन्। जिल्लाका मुगु र डोल्फु गाविसको पाटन क्षेत्रमा पाइने यार्सा संकलनका लागि जेठ ११ गतेबाट खुला गरिने भएपछि अधिकांश विद्यार्थी अभिभावकसँग पाटन पुगिसकेका छन्। त्यसपछि शिक्षक सदरमुकाम गमगढीमा झरेका हुन्।

हरेक वर्ष जेठको दोस्रो सातादेखि असारको अन्तिम सातासम्म याहाँ यार्सा संकलनका लागि खुला गरिन्छ। यसका लागि ठूलो भीड लाग्ने गरेको छ। छोटो समयमा धेरै आम्दानी हुने भएकाले अभिभावकले बालबालिकाको पढाइ छुटाएर यार्सा टिप्न लैजाने गरेका छन्। यही कारण करान र भेगका पाँच गाविसका विद्यालय बन्द गरेर शिक्षक सदरमुकाम गमगढी आएका हुन्।574605_416347828413731_606741268_n

यार्सा टिपेर एक महिनामा एकजनाले कम्तीमा पनि ५० हजार कमाउँछन्। यार्सा टिप्नका लागि अभिभावकले आफूसँगै छोराछोरीलाई पनि लैजाने गरेकाले विद्यालय बन्द गरेर समरमुकाम आउनु परेको छाया क्षेत्र प्राविका प्रधानाध्यापक पदम शाहीले बताए। अभिभावककै दबाबमा स्कुल बन्द गर्नुपरेको उनको भनाइ छ।

शाहीका अनुसार जेठ महिनामा करान भेगका पाँच गाविस मुगु, डोल्फु, किम्री, पुलु र माँग्रीका १८ वटा विद्यालय बन्द हुने गरेका छन्। जेठको दोस्रो साताबाट सर्वसाधारणका लागि खुला गरिने भएपनि केटाकेटी र तिनका अभिभावक एक साताअघि नै मुगु गाविसको सिरानीचौरमा पाल हालेर बसेका छन्। उनीहरू दिनभर साथीसँग खेलेर समय बिताउँछन्।

प्रतिक्रिया