बलिउड महानायक अमिताभ बच्चन एक स्पष्ट वक्ता हुन् । उनी जीवनका सफलता मात्र होइन असफलता पनि खुलस्त राख्न रुचाउँछन् । जीवनमा कति उतारचढाव व्यहोरेर, कति संघर्ष गरेर यहाँसम्म आइपुगियो, यस्ता घटना श्रृंखला बाँड्न उनी कति पनि हिच्किचाउँदैनन् । असफलताको घटनालाई लुकाएर सफलतालाई बढी सिंगारपटार गर्दै प्रस्तुत हुने भीडमा उनी असफलताको कुरालाई सहज तरिकाले अभिव्यक्त गर्न सक्छन् ।
हालै उनले यस्तै अभिव्यक्ति दिएका छन् । उनले भनेका छन्, ‘यदि म फेल भएको थिइन भने यहाँसम्म आइपुग्दैनथिएँ । यदि तपाईं पराजयबाट हैरान हुनुहुन्छ भने तपाईंलाई लाग्न सक्छ, सबै खत्तम भयो, सबै सकियो । यसले बिस्तारै बिस्तारै तपाईंलाई डिप्रेशन हुनसक्छ । तर, यस्तो सोच्नु हुँदैन । तपाईं पराजयबाट त्यो भन्दा अझ मेहनतका साथ राम्रो काम गर्न प्रेरित हुनुपर्छ । यस्तो अवस्थामा काममा मेहनत गर्नु र निरन्तरता दिनु असाध्यै महत्वपूर्ण हुन्छ ।’ जीवनमा कठिन भन्दा कठिन क्षणहरुको सामना कसरी गर्ने ? अमिताभ भन्छन्, ‘मैले कहिले पनि आफ्नो काम रोकिन । निरन्तर काम गरिरहेँ । यसैको प्रतिफल अहिले म यहाँसम्म आइपुगेको छु ।’ अमिताभ बच्चन असफलताको बावजुद पनि सफलताको लागि निरन्तर संघर्ष गर्ने व्यक्तिका रुपमा चिनिन्छन् ।
प्रतिक्रिया