काठमाडौं, १४ जेठ । नेपाली काँग्रेसको भूकम्पपीडित राहत कोषमा प्रजातन्त्रवादी प्राध्यापक सङ्घले झन्डै साढे १९ लाख जम्मा गरेको छ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई सङ्घको तर्फबाट १९ लाख ५७ हजार ६११ को चेक बुधबार हस्तान्तरण गरिएको संघका कोषाध्यक्ष विष्णु पोख्रेलले जानकारी दिए ।
सङ्घमा आबद्ध प्राध्यापकहरुले स्वतःस्फूर्त रुपमा दिएको रकम सङ्कलन गरेर कोषमा जम्मा गरिएको पोख्रेलले जानकारी दिए । काँग्रेसको कोषमा अहिलेसम्म झन्डै रु एक करोड ५० लाख जम्मा भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । कोषमा पार्टीका तर्फबाट मात्रै रु ७५ लाख जम्मा गरेको थियो । कोषमा रकम जम्मा हुने क्रम जारी रहेको र कोषमा जम्मा भएका सबै रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने गरिएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । रासस
प्रतिक्रिया