काठमाडौं, १३ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले सबै राजनीतिक दलको सक्रियता, सहयोग र सद्भावमा भूकम्पपछिको खोज, उद्धार, राहत र पुनर्बासको काम भइरहेको बताएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन समितिको बैठकमा बुधबार प्रधानमन्त्री कोइरालाले सबै पक्षको प्रयासमा पुनःस्थापना र पुनःनिर्माणको काम सफल हुने विश्वास व्यक्त गरे । पूर्व तयारी नहुँदा यस्तो विपद्लाई धान्न समस्या परेको बताउँदै उनले उपलब्ध साधन र स्रोतका आधारमा सबै राजनीतिक दलको सहयोगबाट विपद्पछिको कार्यलाई अगाडि बढाइएको बताए ।
सबैले सरकारसँग अपेक्षा गर्ने भएकाले यस अवस्थामा आलोचनालाई आफूले सहजरुपमा लिएको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले भने, ‘राम्रो बसोबास होस्, कसैले दुःख भोग्न नपरोस् भनेर इन्जिनियरको टोलीलाई गाउँ गाउँ पठाइएको छ ।’ उनले विपद्को समयमा भएका कमकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताए । प्रधानमन्त्री कोइरालाले स्थानीय निकाय नहुँदा विपद्को अवस्थामा काम गर्न कठिनाइ भएको उल्लेख गरे । उनले समयमै सबैले उचित राहत पाउनुपर्छ भन्ने उद्देश्यले १५ हजारसम्म भूकम्प प्रभावितलाई उपलब्ध गराउन आफूले पहल गरिरहेको बताए । शान्ति र संविधानलाई पनि सँगै लैजानुपर्ने भएकाले सबैको सहयोग अनिवार्य भएको उनको भनाइ थियो । विपद्को अवस्थाबारे जानकारी दिन समितिले प्रधानमन्त्रीलाई आज बोलाएको थियो । रासस
प्रतिक्रिया