धनकुटा,१२ जेठ । धनकुटा प्रशासनले भूकम्प गएको एक महिना पछि पिडितलाई राहत वितरण सुरु गरेको छ । गत बैशाख १२ र २९ गतेको भूकम्पबाट घर भत्केकाहरुलाई सोमबारबाट मात्रै राहत वितरण थालिएको हो । जिल्ला दैविप्रकोप उद्धार समितिको निर्णय पछि धनकुटा क्षेत्रनम्वर १ मा पर्ने कुरुलेतेनुपा, मुढेबास, छ नम्वर बुधबारे, बसन्तटार, राजारानी र मौनाबुधुक लगायत दर्जन बढि गाविसका परिवार लाई २५/२५ किलो चामल, २ किलो चिनी, १ किलो नुन र एकरएक थान त्रिपाल वितरण गरिएको हो । यस्तै जिल्ला प्रशासन कार्यालयले पूर्णरुपमा घर क्षति भएका प्रति परिवार ५ हजार र जिविसबाट १/१ हजार रुपैयाँ नगद प्रदान गरिएको छ । बैशाख १२ गतेको ठूलो भूकम्प र त्यसपछि पटक–पटकका परकम्पले पुर्याएको क्षति अद्यावधिक गर्न समय लागेकाले राहत वितरणमा ढिलाई भएको प्रशासनको भनाई छ । भूकम्पका कारण धनकुटाका २ नगरपालिका सहित २८ गाविसका ९ सय २९ घर पूर्ण रुपमा क्षति भएको तथ्याङ्क छ ।
प्रतिक्रिया