म्याग्दी,११ जेठ । म्याग्दीको राम्चेमा पहिरो गइ थुनिएको कालीगण्डकी पानी आफैं खुलेपछि कहीँकतै खतरा नरहेको जनाइएको छ । राम्चेमा स–सानो पहिरो खस्नेक्रम जारी रहेको भएपनि कुनै जोखिम नरहेको स्थानीय प्रशासनले जनाएको हो । नेपाली सेनाका कर्णेल राजेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले सोमबार पहिरोको अवलोकन गरेर केही दिनसम्म पहिरो खस्नेक्रम जारी रहन सक्ने भएपनि त्यसबाट खासै असर नगर्ने जानकारी दिएको छ । पहिरोले नदी थुनिँदा डुबेका बैसरीका २६ घर र मोटरबाटोको डोबसमेत पत्ता लगाउन भने मुस्किल परेको बताइएको छ । हिजो पहिरो लगातार आइरहेको कारण नदी खोल्न सुरक्षाकर्मी र प्राविधिकको टोली असमर्थ रहेका थिए ।
तर आइतबार विहान २ बजेदेखि थुनिएको नदीबाट १५ घण्टापछि पानी बग्न थालेको हो । १५ घण्टा सम्म थुनिएको नदीबाट पानी बग्न थालेपछि तल्लो क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ। अहिले पानीको मात्रामा नियमीत भन्दा चार गुणाभन्दा बढी छ । शनिबार राति देखि नै धेरै बासिन्दाहरु सुरक्षित स्थान तर्फ लागेकाले थप मानवीय क्षति नहोस भनेर अन्य लाई समेत सुरक्षित स्थानमा पठाइएको प्रहरीले जनाएको छ। कालीगण्डकी नदीमा ४ किलोमिटर भन्दा बढी ताल बनेको छ । करिब ३० लाख घनमिटर पानी जमेको अनुमान गरिएको थियो । अहिले तालमा पानीको सतह ५ मिटर भन्दा बढी घटिसकेको प्रनाउ गिरीले जानकारी दिनुभयो । करिब पाँच सय मिटर माथिबाट पहाड भत्कीएर खसेको पहिरोले कालीगण्डकीलाई थुनेपछि तटीय क्षेत्रका बस्तीहरु जोखिममा परेका छन् ।
पानीको बहाब पर्वत प्रबेश गरेको छ । पानीको मात्रा बढेपछि म्याग्दीका गलेश्वर, पर्वतको बगरफाँट, म्याग्दीको बेनी र पर्वतको बेनीबजार उद्योग बासिन्दा सबैभन्दा बढी जोखिममा छन । यस्तै मालढुंगा, फर्से, खनियाँघाट, मोदीबेणी, सेतीबेणीलगायतका क्षेत्रमा समेत खतरा बढेको छ । नदीकिनारमै रहेको पर्वतको मालढुंगास्थित बस्तीका बासिन्दाहरु पनि सुरक्षित स्थान तर्फ लागेका छन । पर्वतका बासिन्दालाई सुरक्षित स्थानमा बस्न भनिएको र मानवीय क्षति नहोस भनेर प्रयास भैरहेको पर्वतका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो । पर्वतको सबैभन्दा होचो भूभाग सेतीबेणीबजारका सबै बासिन्दाहरु बजार छाडेर सुरक्षित स्थान तर्फ लागेका छन ।
प्रतिक्रिया