पोखरा,११ जेठ । भूकम्पको त्रासले पर्यटक आगमन ठप्प भएपछि पोखराका पर्यटन व्यबसायीले पर्यटन क्षेत्र पुनर्जागरणको काम थाल्दै भारी छुटको घोषणा गरेका छन् । बैशाख १२ र त्यसपछिको पराकम्पनको असर पोखरामा न्यून रहेकाले पोखरा सुरक्षित रहेको सन्देश दिदै उनिहरुले बिभिन्न १२ वटा क्षेत्रमा छुटको घोषणा गरेका हुन् ।
स्वदेशी र बिदेशी पर्यटकलाई हरेक पर्यटकिय गतिबिधिमा छुट सहित पोखरा आगमनको लागि व्यबसायीले आग्रह गरेका छन् । भूकम्पको त्रासले पर्यटन क्षेत्रमा आएको मन्दीलाई ध्यान दिदै बनेको पोखरा पर्यटन पुनर्जागरण समितिका संयोजक गणेश बहादुर भट्टराईले पोखरा सुरक्षित छ भन्ने सन्देश दिन आबश्यक रहेको बताए ।
समितिका प्रमोशन सेल्स, मार्केटिङ उपसमितिका संयोजक बासु त्रिपाठीका अनुसार यो अबधिमा पोखरा आउने सबै पर्यटकले होटलको बिस्तारामा ५० प्रतिशत, रेष्टुरामा २० प्रतिशत, ट्रेकिङमा ३० प्रतिशत, ट्रेकिङ गाईडमा २०, टुरिस्ट बसमा २०, साईडसिन भेईकलमा २०, प्याराग्लाईडिङमा २० प्रतिशत छुट दिईने जानकारी दिए । त्यस्तै अल्ट्रालाईटमा १५ प्रतिशत, जिप फ्लायर , बन्जीजम्पमा ५० प्रतिशत, गार्मेट, ट्रेकिङ ईक्युप्मेण्ट खरिदमा २० प्रतिशत छुटको घोषणा गरिएको छ ।
प्रतिक्रिया