पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ जेष्ठ २०७२, सोमबार ११:०३

म्याग्दी,११ जेठ । म्याग्दीको राम्चे–९ काफलडाँडाको पहाड भत्किएर भगवती–२ बैसरीमा खसेको पहिरोका कारण आइतवार रातीदेखि हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने उक्त सडकको बैसरी खण्डमा करिब तीन किलोमिटर क्षेत्रमा पहिरोले क्षति पुर्याएपछि सवारीसाधन सञ्चालन हुन नसकेको म्याग्दी जिप तथा बस व्यवसायी समितिले जनाएको छ ।

jomsomपहिरोले सडक पुरेको र कालीगण्डकी नदी थुनिँदा केही ठाउँमा सडक भत्किएकाले चमेरेदेखि बेगखोलासम्म सवारीसाधन सञ्चालन गर्न नसकिने समितिका उपाध्यक्ष मोहन केसीले बताए । बेगखोलाभन्दा माथि रहेका गाडीलाई बेगखोलादेखि सञ्चालन गरेर यातायात सेवा दिइने उनले बताए । मोटरसाइकल र साना सवारीसाधन बेग भगवती पिप्ले गलेश्वरको रुटबाट आवतजावत गर्न सक्ने जनाइएको छ ।

यसैबीच, नेपाली सेनाले अवरुद्ध सडक खुलाउन र कालीगण्डकी थुनिएको ठाउँबाट सुरक्षित रुपमा पानी बगाउने तयारी गरेको छ । इन्जिनियरिङ टोलीले सोमबार पहिरो र नदी थुनिएको क्षेत्रको अवस्थाको अध्ययन गरेपछि आवश्यक काम गरिने म्याग्दीस्थित इन्द्रबक्स गणका प्रमुख सेनानी मनोजकुमार सिलवालले बताए ।

उनका अनुसार बैसरीमा थुनिएको कालीगण्डकी आफैँ खुलेर बग्न थाले पनि पहिरो खस्ने क्रम नरोकिएकाले काम गर्न समस्या भएको छ । इन्जिनियरिङ टोलीले अध्ययन गरेपछि स्थानीय प्रशासनसँग समन्वय गरेर सडक खुलाउन तथा नदीको पानीलाई सुरक्षित रुपमा बगाउन जनशक्ति परिचालन गरिने सेनानी सिलवालले बताए । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१