म्याग्दी, १० जेठ । म्याग्दीको सदरमुकाम बेनीबजारबाट ९ किलोमिटर उत्तरी क्षेत्र बेनी–जोमसोम सडकको गलेश्वर–वेगखोला खण्डमा पर्ने भगवती–२ बैंसेरीमा पहिरो जाने क्रम रोकिएको छैन । राम्चे–९ काफलडाँडास्थित महभिरमा शनिबार रातिदेखि खसेको पहिरो अझै नरोकिएको हो । पहिरोसँगै उडेको धुलोका कारण घटनास्थलमा केही पनि देखिन सकेको छैन भने उद्धारका लागि नेपाली सेना र प्रहरीको टोली त्यसतर्फ जान नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । धुँवाजस्तै धुलोको मुस्लो निरन्तर उडिरहेकाले कति पहिरो खसेको भन्ने बुझ्न कठिन भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक हिराबहादुर गिरीले जानकारी दिनुभयो । पहाडको ढिस्को फुटेर पहिरो झरेपछि कालीगण्डकी नदी १२ घण्टादेखि थुनिएको छ ।
आइतबार बिहान १ बजे झरेको पहिरोले नदी थुनेपछि अहिले ठूलो ताल बन्दै गैरहेको छ । पहिरोका कारणले बैंसरीका १६ र काफलडाँडाका १० सहित २६ घर ध्वस्त भएका छन् भने ती घरधुरीका १ सय २३ जनालाई सुरक्षित स्थानमा सारिएको छ । त्यसैगरी कालीगण्डकी नदी पूर्णरुपमा थुनिएर ताल बनेपछि त्यो ताल जुनसुकै समयमा पनि फुट्न सक्ने भएकाले खासगरी नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । त्यस्तै नदी उत्तरतर्फ फर्कन सक्ने भएकाले पनि उत्तरी म्याग्दीको वेगखोला, दाना, भूरुङ–तातोपानी, नारच्याङलगायतका १० गाविस उच्च जोखिममा परेका छन् । नदी थुनिएसँगै बेनी–जोमसोम सडकखण्ड अबरुद्ध हुन पुगेको छ । बेनीको कालीपुल बसपार्कसँगै अधिकांश क्षेत्र सुनसान बनेका छन् । सदरमुकामका बैंक तथा वित्तीय संस्था लकर सुरक्षाका लागि उच्च सतर्कतामा रहेको बताइएको छ । यसैबीच काठमाडौंबाट प्राविधिकसहित टोली हेलिकप्टरमार्फत घटनास्थलमा पुगेको छ ।
प्रतिक्रिया