म्याग्दी,१० जेठ । पहिरोका कारण म्याग्दीमा कालिगण्डकी नदी पुरै थुनिएको छ । म्याग्दीको उत्तरी बैँसेरीमा खसेको भीषण पहिरोले कालिगण्डकी नदी गएरातिदेखि थुनिदा भागाभाग सुरु भएको छ । म्याग्दी प्रहरीका अनुसार राम्चे–९ काफलडाँडाँ नजिकैको चट्टानी पहाड खसेर झरेको भीषण सुख्खा पहिरोले भगवती–२ स्थित बैंसेरीमा कालिगण्डकी नदी थुनिएको हो । प्रहरी नायब उपरीक्षक हिरा गिरीका अनुसार कालिगण्डकी नजिकका बस्तिका वासिन्दालाई सजग रहन आग्रह गरिएको छ । बिहान २ बजेतिर पहिरो गएको प्रहरीले बताएको छ । पहिरोले केही घर पुरेको तर मानवीय क्षतिका विषयमा अहिलेसम्म एकिन नभएको गिरीले जानकारी दिए ।
काफलडाँडाको चट्टानी पहाड झरेर नदीको ९५ प्रतिशत बहाव बन्द भएको स्थानीयको भनाइ छ । सो क्षेत्र भूकम्पलगत्तै कमजोर भएको थियो । घतान, पिप्लेको घुमाउने ताल, भगवती, बेनीबजार, गलेश्वर, तातोपानी, तित्ल्याङ, बेगखोला, महभिर, घुरुङ तातोपानी, पोखरेबगर, घारखोलालगायतका स्थान जोखिममा छन् । बेनीबजारदेखि दक्षिणतर्फ खानियाँघाट, फर्चे, मालढुंगालगायत स्थानका बस्ती पनि जोखिममा छन् । हरीले माइकिङ गर्दै बजार छाडेर उपल्लो भेगमा गएर बस्न आग्रंह गरेको छ ।
सर्वसाधारण बस्ती छाडेर अग्लो भागमा एकै ठाउँमा जम्मा भएर बसेका छन् । म्याग्दीका बेगखोला, तिप्ल्याङ, महभिर, भिरकाटे, पोखरेबगर, लगायतका पर्वत, बाग्लुङ र स्याङ्जाको कालिगण्डकी किनारका बस्तिहरु जोखिममा परेका छन् । पहिरोले बनेको बाँध खुलाउन काठमाडौंबाट नेपाली सेनाका विशेषज्ञ टोली हेलिकोप्टरबाट घटनास्थलतर्फ जाँदैछ ।
प्रतिक्रिया