कास्की, ९ जेठ । भूकम्पले पोखरामा ठूलो क्षति नभएपनि पर्यटक आगमन ठप्पप्राय भएपछि पश्चिमाञ्चल होटल संघ पोखराले होटलका कोठामा ५० प्रतिशत छुटको घोषणा गरेको छ । संघले शनिबार लेकसाइडमा एक विशेष भेलाको आयोजना गरी छुटको घोषणा गरेको हो । यो छुट संघ अन्तर्गत सदस्य रहेका पोखराका सबै होटलमा लागु हुने र सदस्य नरहेका अन्य होटललाई समेत छुट प्रदान गर्न आग्रह गरिने संघका अध्यक्ष भरतराज पराजुलीले जानकारी दिनुभयो । पोखराको पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानी होटल क्षेत्रकै रहेको स्मरण गराउँदै पराजुलीले संकटको यो घडीमा हात बाँधेर बस्ने हो भने पर्यटन उद्योग धरासायी हुने मात्र नभई अर्बौं रुपैयाँ लगानी समेत डुब्ने बताउनुभयो ।
भूकम्पका कारण सिथिल भएको पर्यटनलाई जगाउने अभियान अन्तर्गत संघले विशेष भेला गरेको हो । भेलाले ५० प्रतिशत छुटको घोषणालाई कडाईका साथ कार्यान्वयन गर्ने र छुटको योजना आउँदो सेप्टेम्बर महिनासम्म लागू गर्ने निर्णय गरेको छ । होटलमा प्रदान गरिने छुट कार्यान्वयनका अतिरिक्त संघले संघका सदस्य व्यवसायीबाट रकम संकलन गरी प्रवद्र्धनको अभियानलाई समेत तीव्रता प्रदान गर्ने योजना बनाएको संघका निवर्तमान अध्यक्ष हरि शर्मा गैह्रेले जानकारी दिनुभयो ।
त्यस्तो प्रवद्र्धन नेपालका सीमानाका शहरहरु र चीनमा समेत छिटै सुरु गरिनेछ । खासगरी चीनमा हुन लागेको पर्यटन मार्टमा समेत संघका विभिन्न पदाधिकारीले सहभागिता जनाउन लागेको संघले जनाएको छ । पोखरा पर्यटन पुनर्जागरण समिति मार्फत अन्तर्राष्ट्रिय मिडियालाई पोखरा ल्याएर सकारात्मक सन्देश, देश विदेशमा प्रवाह गर्ने तयारी भैरहेको पश्चिमाञ्चल होटल संघ पोखराले जनाएको छ । अर्थ, पर्यटन र अन्य सम्बन्धित मन्त्रालयका मन्त्री, गभर्नर तथा चीन र भारतीय दूतावासका राजदूतलाई भेटी पोखराको पर्यटनलाई माथि उकास्न छलफल गरी सहयोग मागिने संघका अध्यक्ष भरतराज पराजुलीले बताउनुभयो । वैशाख १२ र २९ गते देशमा ठूलो भुकम्प गएपनि पोखरासँगै अन्नपूर्ण क्षेत्र, बन्दिपुर, बर्दिया, कर्णाली, लगायत दर्जनौं ठाउँहरु सुरक्षित रहेको सन्देश दिनुपर्ने पर्यटन व्यवसायीले बताएका छन् ।
प्रतिक्रिया