काठमाडौं,८ जेठ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री दीपकचन्द्र अमात्यले राजीनामा दिएका छन् । राजीनामाबारे पार्टी नेतृत्व र प्रधानमन्त्री कार्यालयले भने पुष्टि गरेका छैनन् । मन्त्री अमात्यले प्रधानमन्त्री सुशील कोइरालासमक्ष राजीनामा दिएको निकट स्रोतले जनाएको छ ।
मन्त्री नियुक्त गरेदेखि नै आलोचित भएका अमात्यले काम गर्न नसकेको भन्दै पार्टीले ध्यानाकर्षण गराउँदै आएको थियो । पछिल्लो समय बिनाजानकारी श्रीमतीसहित अमेरिका गएको विषयलाई नेतृत्वले गम्भीरतासाथ लिएको एमालेका एक पदाधिकारीले जानकारी दिए ।
अमात्य एमाले बरिष्ठ नेता झलनाथ खनाल निकट हुन् । खनाल प्रधानमन्त्री हुँदा अमात्य स्वकीय सचिव थिए । एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफूले पनि अमात्यको राजीनामाबारे सुनेको बताए । ‘मैले पनि सुनें,’ उनले भने, ‘उहाँले राजीनामा पत्र कसलाई दिनुभएको छ भन्ने पुष्ट्याईं गर्दैछु ।’
प्रधानमन्त्री कोइरालाका स्वकीय सचिव अतुल कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव रमेश आचार्यले पर्यटन मन्त्रीको राजीनामाबारे थाहा नभएको बताएका छन् । उपल्लो विषय भएको भन्दै उनीहरु पन्छिए ।
एमालेले ०७१ भदौ २७ गते पर्यटन मन्त्री भीमप्रसाद आचार्य र उद्योग मन्त्री कर्णबहादुर थापालाई फिर्ता बोलाएर क्रमशः अमात्य र महेश बस्नेतलाई पठाएको थियो । राजीनामाको खबर दिउँसैदेखि बाहिर आए पनि पर्यटन मन्त्री अमात्य र उनका स्वकीय सचिव चन्द्र लामा साँझ अबेरसम्म सम्पर्कमा आएनन् ।
प्रतिक्रिया