काठमाडौं, ६ जेठ । बुधबार बिहान ११ बजेर १० मिनेटमा दोलखा केन्द्रबिन्दू भएको ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएको छ । मंगलबार बेलुकी पौने ५ बजे सिन्धुपाल्चोक केन्द्रबिन्दू भएको ४ दशमलव २ रेक्टर स्केलको पराकम्प गएपछि त्यसपछि ४ भन्दा माथिको पराकम्प गएको थिएन । झण्डै १८ घण्टापछि पराकम्प गएको हो । काठमाडौंमा राती सानो धक्का महसुस भएपनि त्यो चार रेक्टर स्केलको भन्दा कमको अर्थात ३ दशमलव ६ रेक्टरको मात्र रहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । आइतबार र सोमबार पनि तीन तीन वटा पराकम्प गएका छन् । वैशाख १२ गते भूकम्प आएपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका अढाइसय वटा पराकम्प गएको छ । ४ रेक्टर भन्दा कमका पराकम्प गइरहेकाले सतर्क हुन तर नआत्तिन विज्ञको आग्रह छ ।
चार दिनदेखि भूकम्पको पराकम्प कम हुँदै गएको छ । दिनमा दुई दिनपटक मात्रै ससाना पराकम्प गएपछि जनजीवन सामान्य हुन थालेको छ । घर भएर पनि खुला ठाउँमा सुत्न गएकाहरु घर फर्कन थालेका छन् । अघिल्लो हप्ताको तुलनामा सडक बजारमा पनि चहलपहल बढेको छ । यसअघि दैनिक ९-१० वटा पराकम्प आउने गरेकामा आइतबारदेखि कम हुँदै गएपछि जनजीवन सामान्य बन्दै गएको हो ।
प्रतिक्रिया