काठमाडौं,५ जेठ । विनाशकारी भूकम्पपछि पुनःनिर्माण र पुनःस्थापनाका लागि नेपालको प्राथमिकता पहिचान गर्न भारतको विशेष टोली काठमाडौं आइपुगेको छ । नेपालको पुनस्निर्माण र पुनस्स्थापनाको योजनामा सघाउ पुर्याउन नेपालको प्राथमिकता पहिचान गर्न भारत सरकारले विशेष टोली काठमाडौं पठाएको हो । त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा अतिरिक्त प्रमुख सचिव पिके मिश्र तथा विदेश मन्त्रालयमा नेपाल मामला हेर्ने सहसचिव अभय ठाकुरले नेपाल सरकारका उच्च अधिकारीसंग विशेष परामर्श गर्नुहुनेछ ।
भूकम्प र ठूलो जनधनको क्षती भएपछि नेपाल सरकारले पुनस्निर्माण योजनामा अन्तर्राष्ट्रिय दातृ समुदायको साथ–सहयोग आह्वान गरेलगत्तै भारतसरकारले निकटस्थ छिमेकी एवं सहयोगीका रुपमा नेपालका प्राथमिकता बुझ्न चाहेको हो । काठमाडौंस्थित परराष्ट्र मन्त्रालयको समन्वयमा आज गृह, भौतिक योजना, अर्थ, स्वास्थ्य, कृषि मन्त्रालयसहितका पदाधिकारीसंग विशेष परामर्श बैठक हुनेछ । सो टोली आजै अपरान्ह दिल्ली फर्कने बताइएको छ ।
प्रतिक्रिया