काठमाडौं,४ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले विनाशकारी भूकम्पको प्रभावबाट माथि उठ्न सिङ्गो देश एक भइसकेकाले अब राजनीतिक संक्रमणबाट मुक्ति पाउन पनि यही खालको एकतामा जोड दिनु भएको छ । समृद्ध र विकसित नेपाल निमार्णका लागि प्रकोपको बेलामा अहिले देखिएझैं अभूतपूर्व एकता आवश्यक पर्ने भन्दै उहाँले त्यहींबाट लोकतान्त्रिक संविधान पनि जारी हुने उल्लेख गर्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा विपत् व्यवस्थापनका लागि राष्ट्रिय सरकारबारे सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘विपत्ले हामीलाई अहिले एकै ठाउँमा उभ्याएको छ । यो अवस्थाले संविधान र स्थानीय निकायको निर्वाचन लगायतका राजनीतिक एजेण्डामा पनि निरतन्तरता पाउनुपर्छ ।’
फरक प्रसङ्गमा उहाँले बेलायतले पठाउन लागेको चिनुक विमान अस्वीकार गरिएको बारे बेलयाती प्रधानमन्त्री डेभिड क्यामरुनसँग आफूले हिजैमात्र पर्याप्त छलफल गरेको जानकारी दिनुभयो । नेपालको विमानस्थलले १ सय ९० टनभन्दा माथिको भार थेग्न नसक्ने भएकाले सो विमान काठमाण्डौ नल्याउने निर्णय भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री क्यामरुनसँग मैले लामो छलफल गरेँ । उहाँलाई काठमाण्डौको अवस्थाबारे अवगत गराएँ । हाम्रो भौगोलिक विकटता र मौसममा आएको खराबीले गर्दा अमेरिकी हेलिकप्टर समेत दुर्घटना भएको तथ्य उहाँलाई अवगत गाएपछि क्यामरुन पनि चिनुक नपठाउन सहमत भइसक्नु भएको छ ।’ प्रधानमन्त्री कोइरालाले सो घटनालाई अन्य कुटनीतिक एवं राजनीतिक रंग नदिन सबैमा आग्रह गर्नुभयो । यसअघि कोइरालाले भूकम्पपछि सरकारले उद्धार, राहत र पुनस्निर्माणमा गरेको प्रगतिबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई अवगत गराउनु भएको थियो ।
प्रतिक्रिया