उदयपुर, ३ जेठ । नेकपा एमाले उदयपुरले भूकम्प पीडितको सहयोगार्थ ‘एक घर एक पाथी चामल, एक घर एक नोट’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टी जिल्ला कमिटीको बैठकले यस्तो निर्णय गर्दै जिल्लाबाट ३० टन खाद्यन्न तथा लत्ताकपडा उठाउने लक्ष्य राखेको छ । त्यस्तै झण्डै ५ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएको छ ।
राहत संकलनका लागि पार्टी अध्यक्ष इश्वरमणि राउतको अध्यक्षतामा १४ सदस्य जिल्ला स्तरीय राहत संकलन टोली निर्माण गरेको छ । टोलीको सदस्यमा विमल कार्की, परमेश्वर घिमिरे, ज्ञानेन्द्र श्रेष्ठ, दुर्गाकुमार थापा, प्रेमकुमार राई, प्रकाश बस्नेत, भागवत राउत, गीता रेग्मी, सृजना दनुवार, महेश्वरी राई, दिलबहादुर तामाङ, महेश रोका लगायत रहेकाछन् । टोलीले जिल्लाका क्षेत्रीय, इलाका, नगर तथा गाउँ कमिटीसँग समेत समन्वय गरी अभियान सञ्चालन गर्ने सदस्य दुर्गाकुमार थापाले जानकारी दिनुभयो ।
विशेषगरी जिल्लाका मुख्यव्यापारिक केन्द्र रामपुर, बेल्टार, बसाहा, लालबजार, हडिया, जोगिदह, पुरन्दह, गाईघाट, मूर्कुची, नेपालटार, कटारी, त्रिवेणी, घुर्मी, साउने र फोक्सिन्टारमा अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । अभियान जेठ ४ गतेबाट सञ्चालन हुने जनाइएको छ ।
प्रतिक्रिया