काठमाडौं,३ जेठ । बैशाख २९ गते आएको दोस्रो विनाशकारी भूकम्पमा परी पछिल्लो तथ्याङक अनुसार १ सय ४१ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय ४२ जना घाइते भएका छन् । भूकम्पबाट ज्यान गुमाउनेमा उपत्यकामा ११, पूर्व क्षेत्रमा ४, मध्य क्षेत्रमा १२३ र पश्चिम क्षेत्रमा ३ जना रहेका छन् । घाइते हुनेमा उपत्यकामा १ हजार ८ सय ९१, पूर्व क्षेत्रमा १ सय २४, मध्य क्षेत्रमा ९ सय ८४, पश्चिम क्षेत्रमा १ सय २९ र मध्य पश्चिम क्षेत्रमा १४ जना रहेका छन् । मृतक १ सय १४ जनाको शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । भूकम्पबाट हालसम्म ४ हजार ९ सय ४७ पूर्णरुपमा र ६ हजार ७ सय २८ आंशिकरुपमा गरी जम्मा ११ हजार ६ सय ७५ भौतिक संरचनामा क्षति पुगेको छ ।
त्यस्तै, बैशाख १२ गते आएको पहिलो बिनाशकारी भूकम्पमा परी ८ हजार ४ सय २६ जनाको ज्यान गुमेको छ भने १७ हजार ८ सय ८४ जना घाइते भएका छन् । हालसम्म नेपाली नागरिक २५२ र विदेशी नागरिक ११० जना बेपत्ता भएको नेपाल प्रहरीले जनाएको छ । भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती गर्ने, उद्दार तथा खोज कार्यसमेतमा देशभर नेपाल प्रहरीबाट ४४ हजार ६ सय २९ जना परिचालित भएका छन् ।
प्रतिक्रिया