अब मोबाइलबाट थाहा पाइन्छ भूकम्पबारे जानकारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ जेष्ठ २०७२, आईतवार १०:२३

के तपाइँ भूकम्पबारे जिज्ञासु हुनुहुन्छ ? यदि भूकम्पका बारेमा धेरै जिज्ञासा राख्नुहुन्छ भने अब ढुक्क हुनुहोस्, किनकी तपाइँको जिज्ञासालाई मेटाइदिने छ – एक क्लिकको भरमा मोबाइल एप्सले । नेपाल अर्थक्वेक अपडेट नामक मोबाइल एप्स सफ्टवेयरबाट भूकम्प गएपछि कति रिक्टर र कुन क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको भनी विस्तृत जानकारी लिन सकिनेछ । यसबाट भूकम्पको पराकम्पन गएको अघिल्लो दिन र पछिका महिना तथा एक वर्षसम्मका जानकारी लिन सकिन्छ । भूकम्प गएपछि सकेसम्म जनतालाई चाँडो जानकारी दिलाउने उद्देश्यले नेपाल अर्थक्वेक अपडेट एप्स निर्माण गरिएको उक्त एप्सका डिभलपर मनोहरलाल श्रेष्ठले बताए । यो एप्स १.१ एमबीको मात्र क्षमता भएकाले चाँडो खुल्छ । यसमा चार रिक्टर स्केल माथिका मात्र भूकम्प र यसका पराकम्पन राखिनेछन् । राष्ट्रिय भूकम्पमापन केन्द्रले दिएको विवरणपछि मात्र एप्समा राखिने हुनाले भूकम्प गएपछि कम्तीमा पाँच मिनेटमा जानकारी लिन सकिने एप्स डिजाइनर सुरेश श्रेष्ठले जानकारी दिए ।

nepalearthएन्ड्रोइड मोबाइलमा गुगल प्लसबाट डाउनलोड गरी निःशुल्क प्रयोग गर्न सकिने यो एप्समा अरु सुविधा थप्दै जाने र यसलाई विश्वभरबाट प्रयोग गर्न सकिने उनले उल्लेख गरे ।
खानी तथा भूगर्भ विभागको सहयोगमा श्रेष्ठद्वयले भूकम्पसम्बन्धी जानकारी दिने मोबाइल एप्स बनाएका हुन् ।
यस्तै, भूकम्पबारे जनतालाई सहजरुपमा जानकारी दिलाउनका लागि राष्ट्रिय भूकम्पमापन केन्द्रले नेपाल टेलिकमसँगको सहकार्यमा पैसा नलाग्ने ९टोलफ्रि नम्बर० सेवा आजैदेखि सुरु गरेको छ । १६१८०१४४१०१४१ नम्बरमा डाइल गरेपछि तत्कालै गएको भूकम्प र केन्द्रबिन्दुबारे जानकारी लिनसकिने केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । भूकम्पसम्बन्धी जानकारी दिने मोबाइल एप्स र टोलफ्रि नम्बरको आज खानी तथा भूगर्भ विभागमा आयोजित एक कार्यक्रमकाबीच उद्योगमन्त्री महेश बस्नेतले सुभारम्भ गरे ।
सो अवसरमा मन्त्री बस्नेतले भूकम्पबारे सर्वसाधारणलाई जानकारी दिन मोबाइल एप्स उपयोगी हुने भन्दै नेपाल सूचना प्रविधिमा पछि छैन भन्ने दरिलो उदाहरण यस्ता सूचना प्रणालीको विकासले प्रस्तुत गरेको उल्लेख गर्नुभयो । उनले भूकम्प प्रभावित क्षेत्रको जमिन चिरा परेको र कतिपय स्थानमा बस्ती बसाल्ने अवस्था नरहेकाले प्रभावित क्षेत्रमा खानी विभागका विज्ञहरुलाई अनुसन्धानमा खटाई कुन क्षेत्रमा बस्न योग्य हुन्छ भनी पहिचान गर्न विभाग सक्रिय ढङ्गले लागेको बताए । मन्त्री बस्नेतले भूकम्पपछिको अवस्थामा बजारमा कृत्रिम अभाव सिर्जना र मूल्यवृद्धि हुन नदिन तथा वितरण तथा आपूर्तिलाई सहज बनाउन वाणिज्य विभाग लागिपरेको समेत जानकारी दिनुभयो ।

उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनालले लामो समयको प्रयासपछि ढिलै भए पनि सुरु भएको यो सेवाले जनतालाई भूकम्पबारे सहजरुपमा जानकारी लिन उपयोगी हुने बताए । भूकम्पबारे अब सधैँ सचेत हुनुपर्ने अवस्था आएको सन्दर्भमा मोबाइल एप्स र टोलफ्रि सेवाबाट आवश्यक जानकारी लिनसकिने भन्दै अहिलेको भूकम्पलाई विद्यालय शिक्षामा समावेश गर्न सके भावी पुस्ताका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

अब भूकम्पका पराकम्पनबाट डराउनुपर्दैन

भूकम्पबारे विभिन्न अड्कलबाजी तथा टीकाटिप्पणी भइरहेको सन्दर्भमा भूगर्भविद्हरुले भूकम्पपछिका ससाना पराकम्पनबाट नअत्तालिन सर्वसाधारणलाई सुझाएका छन् । खानी तथा भूगर्भ विभागका उपनिर्देशक एवम् भूकम्पविद् डा सोमनाथ सापकोटाले ठूलो भूकम्पपछि आउने सानातिना पराकम्पनबाट त्रसित नहुन र यसबारे सतर्क रहन आग्रह गरे।
‘अहिले भूकम्पको मापनबारे बजारमा अनेक हल्ला आएका छन्, यसको कुनै तुक छैन, हाम्रो एमएल म्याग्निच्युडको स्केल नबुझेर अस्पष्ट भएको हो । अहिले हिमालय क्षेत्रमा आएको भूकम्प नौलो हैन र यही ठाउँमा फेरि ७.६ रिक्टरको भूकम्प आउने शक्ति छैन, त्यसैले अत्तालिनुपर्दैन,’ उनले भने ।

डा सापकोटाका अनुसार यही वैशाख १२ गते शनिबार दिउँसो ११ः५६ मा गएको ४० सेकेन्ड लामो ७.६ रिक्टर स्केलको भूकम्पपछि त्यसको १८ दिनपछि गत वैशाख २९ गते छोटो समयको ६.८ रिक्टर स्केलको भूकम्प गएको थियो । हालसम्म चार रिक्टर माथिका २३८ वटा भूकम्पका पराकम्पन गएको उनले जानकारी दिए । सबैभन्दा बढी सिन्धुपाल्चोकमा ६२, दोलखामा ५३ र धादिङमा १६ वटा पराकम्पन गएका छन् । सिबी अधिकारी,रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१