काठमाडौं, ३ जेठ । भूकम्प गएको पाँच दिन बित्दा पनि दोलखाको उत्तरी २२ गाविसको केन्द्र सिंगटी बजार र आसपासको क्षेत्रमा पुरिएका शवहरु निकाल्न सकिएको छैन् । पुरिएका शवहरु गन्हाउन थालेका छन् । कतिपय शव जंगली, जनावर, घरपालुवा कुकुर र गिद्धले खान थालेका छन् । शव गन्हाएर सिंगटी र सुरीको भोर्ले बजार दुर्गन्धित बन्न थालेको छ ।
राहत लिन सिंगटी गएका कतिपय अझै बेपत्ता छन् । स्थानीय बासिन्दाका अनुसार चिलँखाका सात, लापिलाङका पाँच, सुरीका पाँच, खोपाचाँगुका चार र ओराङका दुई गरी २३ अझै बेपत्ता छन् । एकै स्थानमा पुरिएका १० युवायुवतीको शव निकालिएको छ । सुरक्षाकर्मी र जगेडा हेलिकोप्टर २९ वैशाखमा हराएको अमेरिकी सेनाको हेलिकोप्टर खोज्न व्यस्त भएपछि बेपत्ता स्थानीयको खोजी र भग्नावशेषमा पुरिएका शवहरु निकाल्ने काम ढिलाइ भएको थियो । शुक्रबारदेखि भने सेना पनि खोजी तथा उद्धारमा सक्रिय भएको छ । नयाँ पत्रिकाबाट ।
प्रतिक्रिया