काठमाडौँ, ३० वैशाख । संविधानसभा भवन नयाँ वानेश्वरमा आज सरकारले सभासद्हरूलाई त्रिपाल वितरण गर्दा विवाद भएपछि सभाध्यक्ष सुवास नेम्वाङले वितरण कार्य रोक्न आदेश दिएका छन् । सहरी विकास र गृह मन्त्रालयको आग्रहका आधारमा संसद् सचिवालयले पाल वितरण गरेको थियो । पीडित जनताले पर्याप्त पाल नपाएको स्थितिमा सभासद्ले पाल लिनु कति उचित रु भन्ने प्रश्न उब्जिएको र केही सभासद्ले अध्यक्ष नेम्वाङलाई सो कार्य रोकाउन आग्रह गरेका थिए । नेम्वाङले आफ्नो जानकारीविना सभासद्लाई पाल वितरण गरिएको जनाउँदै रोक्न आदेश दिएपछि सो कार्य स्थगित भएको थियो । सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भने सहरी विकास र गृह मन्त्रालयको आग्रहमा त्रिपाल वितरण गरिएको पत्रकारलाई बताए । रोक्का गर्नुअघि करिव २०० सभासद्ले पाल लिइसकेका थिए ।
पाल वितरणको विवादका कारण दिउँसो १ बजे बोलाइएको व्यवस्थापिका संसद्को बैठक अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफूले सो त्रिपाल नलिने घोषणा गरेका थिए । एनेकपा (माओवादी) का मुख्य सचेतक गिरिराजमणि पोखरेलले त्रिपाल लिएर भूकम्प अतिप्रभावित जिल्ला दोलखाका जनतालाई पठाउन सभासद्लाई निर्देशन दिइएको जानकारी दिए । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पनि विवाद देखिएपछि त्रिपाल फिर्ता गरेको बताए । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि जनताले नपाएको अवस्थामा आफूहरुले पाल नलिने बताए । संसद्मा प्रस्तुत सङ्कल्प प्रस्तावको छलफलका क्रममा सांसद्हरुले सरकारले राहत वितरणमा आफूहरुसँग समन्वय नगरेको गुनासो गरेका थिए ।
प्रतिक्रिया