कालिञ्चोक(दोलखा) ,२८ बैशाख । भूकम्प गएको दुई साताभन्दा बढी भइसक्दा पनि खोपाचाँगु गाविस–१ उकुराङमा लगातार पहिरो गइरहेको छ।
पहिरो लगातार गइरहेका कारण यहाँ बस्दै आएको थामी समुदाय गाउँ फर्किन सकेको छैन। उकुराङमा बस्दै आएका थामी समुदायका १३ परिवार अहिले एक घण्टा टाढाको कालिञ्चोक गाविस–४ स्थित बेगुम्पामा टहरा बनाएर बसिरहेको छ। पहिरो आउने क्रम जारी रहेकाले अहिलेकै अवस्थामा उनीहरु गाउँ फर्किन सक्ने अवस्था छैन। गाईबस्तु समेत गाउँमै अलपत्र अवस्थामा छन्।
“गोठ बनाएर भएपनि बस्ने सोच थियो, पहिरो नै रोकिन्न,” स्थानीय बासिन्दा ६३ वर्षीय भक्त बहादुर थामीले भने। पहिरोको डरले भूकम्प आएदेखि कोही पनि गाउँ जान नसकेको उनले बताए। गाईबस्तुको अवस्थाबारे थामी समुदाय अझै बेखबर छ। भूकम्पबाट पुरिएका गाईबस्तु गोठमै छन्। जङ्गलमा चराउन लगिएकाको अवस्था थाहा हुन सकेको छैन।
“गाउँ पस्न डर लागिरहेको छ, अहिले पनि भीरबाट ठूल्ठूला ढुङ्गा खसिरहेका छन्,” बेगम्पुपारीको आफ्नो गाउँ देखाउँदै मनमाया थामीले भनिन्। अग्लो भीरको काखमा अवस्थित उकुराङ गाउँको ठाउँठाउँमा बस्नै नसकिने गरी पहिरो गएको छ। जमिन चिराचिरा परेको छ। “अब गाउँ फर्किन सक्ने अवस्था छैन, सरकारले सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाई दिनुपर्छ,” उनले भनिन्।
सदरमुकाम चरिकोटदेखि करिब पाँच घण्टा ग्राभेल सडकको यात्रापछि कालिञ्चोक पुगिन्छ। ग्राभेल सडकबाट छुट्टिएपछि खोपाचाँगुको उकुराङ पुग्न तीन घण्टा पैदल हिँड्नु पर्छ। दुर्गम गाउँको विपन्न थामी समुदाय भूकम्पपछि छिमेकी गाउँ बेगुम्पामा टहरा बनाएर बसिरहेको छ। छिमेकी गाउँकाले पाक्नै लागेको गहुँ काटेर उनीहरुलाई टहरा बनाउन जमिन उपलब्ध गराएका छन्। घरमा पुरिएको अन्न निकालेर ल्याउन नसक्दा भोकभोकै बस्नु परेको उनीहरु बताउँछन्।
“यहाँ राहत दिन कोही आएका छैनन्, राहत लिन कहाँ जाने हो केही थाहा छैन,” टहरा बनाउँदै गरेका प्रेम थामीले दुःखेसो पोखे। पानी पर्न थालेपछि वृद्धवृद्धा र बालबालिका बिचल्लीमा परेको उनले बताए। बालबालिका र वृद्धवृद्धामा झाडापखालाको समस्या देखा परेको छ। बेगुम्पा स्वास्थ्य चौकीको भवन समेत भूकम्पका कारण भत्किएपछि बिरामीको उपचार गर्न कठिनाइ भइरहेको स्वास्थ्य सहायक विष्णुप्रसाद ओलीले बताए। “औषधि सबै नष्ट भयो, बस्ने खाने ठेगान नहुँदा हामी आफैं पनि बिरामी पर्न थालेका छौँ,” उनले भने। रासस
प्रतिक्रिया