भक्तपुर,२८ बैशाख । “घर थिएन भनुँ भने चारवटा घर थियो, छ भनुँ भने बस्नलाई घर छैन । डेरा खोज्दै हिँडेको १० दिन भयो, आजसम्म डेरा पनि पाएको छैन, भाइहरुको समेत गरी १९ जनाको परिवार छ । कहाँ जाउँ के गरुँ, कसो गरुँ भएको छ । यही वैशाख १२ गते गएको भूकम्पका कारण बस्ती पूरै ध्वस्त भएको छ ।” भत्किएका घरका भग्नावशेष केही हटाइए पनि धेरै बाँकी रहेको छ । कत्रो सान थियो, आज घर भएको सुकुम्बासी नै भएको छु । मनसुन सुरु हुन लाग्यो, लालाबाला छन् कहाँ लगेर राखुँ भएको छ । भूकम्पले भत्काएको घर अगाडि टोलाइरहेका भक्तपुर गलसी पुखुः(पोखरी)का तुलसीनारायण दण्डिख्या आफ्नो वेदना यसरी पोख्छन्।
“भूकम्पले ८८ वर्षीय आमाको प्राण लुट्यो । हामीलाई टुहुरा बनायो, घरबास उठ्यो, तुलसीनारायणले भने, प्राकृतिक विपत्तिले दिएको पीडा र मानसिक प्रताडनालाई शब्दमा उतार्न सकिँदो रहेनछ । भूकम्प आएको दिन खाना खाएर चोकमा मात्रै निस्केको थिएँ ।”
‘आमा भन्दाभन्दै भूकम्पले आमाको प्राण पखेरु लुट्यो । आमालाई बचाउन सकिन्छ भन्ने लागेको थियो। तर पटक–पटकको पराकम्पनले आमालाई निकाल्न सकिन । भाइहरु पनि घरमा थिएनन् । श्रीमतीले आमा माथि हुनुहुन्छ भनेको पनि थाहा छ, चार घन्टासम्म माथिल्लो तलामा पुग्न सकिन । हेर्दाहेर्दै आँखा अगाडि नै बस्तीका पूरै घर ढल्यो, दण्डिख्याले वैशाख १२ गतेको स्मरण गरे।
डोजर, स्काभेटर तथा प्राविधिक उपकरण नहुँदा भत्केका घर पनि पन्छाउन सकेका छैनन् भक्तपुर गोलमढी टोलवासीले । राहतका नाममा दुई चार पोका चाउचाउ मात्रै पाइएको छ । सरकारले दिने भनेको राहत कस्तो हो आजसम्म देख्न नपाएको गुनासो छ, स्थानीयवासीको ।
दण्डिख्या स्थानीय महाकाली नाच संयोजन समितिका अध्यक्ष छन्। प्राकृतिक विपत्तिले परम्परागत नाचमा प्रयोग हुने सामग्रीको पनि नाश भएको छ । परम्परा संरक्षणमा पनि विशेष ध्यान दिएको बताउने दण्डिख्या हाल स्थानीय एक गार्मेन्टमा अस्थायी रुपमा बसिरहेका छन्। तर भत्केको घर कसरी हटाउने र नयाँ बास कसरी खडा गर्ने भन्ने चिन्ताले सताएको छ । दण्डिख्याका भाइ कृष्णहरि, राजेन्द्रको हालत पनि उस्तै छ ।
मन खुसी छैन, भएको सबै सम्पत्ति सकियो । अब कसरी घर बनाउने, भत्केका संरचना कसरी पुनःनिर्माण गर्ने पिरलो थपिएको छ लस्करै भत्किएका घरले गिज्याएजस्तो लाग्छ रे उनलाई । कुन घरबेटीको सामान हो, कुन कोठा भाँडामा बस्नेको सामान हो छुट्याउन नसक्दा डोजर लगाएर भग्नावशेष हटाउन पनि नसकिएको बताउँछन् सो टोलका अर्का स्थानीयवासी श्यामकृष्ण ग्वाँछ ।
भक्तपुर पसिखेल डम्पिङ साइडको फोहरको चर्को गन्ध आइरहेको छ । ज्यानको मायाले फोहर सामान्य जस्तै लाग्न थालेको छ । फोहर नजिकै भूकम्पपीडित चार परिवार आश्रय लिएर बसेका छन् । तीमध्येकी एक हुन् ज्ञानुमाया शाही । “बस्ने घर भत्कियो, बस्ने ठाउँ छैन, त्यही भएर दुर्गन्ध सहेर बसेका छौँ”, शाहीले भनिन्।
सिन्धुपाल्चोक भिमटारकी सानुकान्छी दनुवारको भाँच्चिएको खुट्टा घिसार्दै डम्पिङ साइटलाई आश्रय बनाएका छन्। गाउँको घर पनि भूकम्पले लग्यो, श्रीमान् मजदुरी काम गर्छन्। यहाँ पनि बस्ने ठाउँ छैन, चार महिना अगाडि भाँच्चिएको खुट्टा भूकम्पमा दौडिँदा पुनः दुख्न थालेको छ । घरबेटीहरुले राहत पायने भए, हामी कोठामा बस्नेहरुले केही पनि पाएनौँ, उनले भनिन्।
भूकम्पले कुनै पनि प्रभाव नपारेका र भौतिक क्षतिसमेत नभएकाहरुले समेत राहत लिएपछि भक्तपुरको टोल–टोलमा लेखिएको छ “भूकम्पपीडित नभएका व्यक्तिले राहत लिएमा आफ्नै पिण्ड खाएको बराबर हुनेछ–भूकम्पपीडित ।”
भूकम्पले भत्काएको मन, भत्काएका बस्ती र टोलका आ–आफ्नै पीडा छन्, कतै राहत धेरै भएको, कतै राहत नपाएको गुनासो पनि उत्तिकै छ । तर भोट माग्ने बेलामा घरघरै पुग्ने राजनीतिक दल र तीनका कार्यकर्ता आफूहरुको पीडामा देखा नपरेको भन्दै भक्तपुरका भूकम्पपीडित थप आक्रोशित बनेका छन् । सो आक्रोसलाई राजनीतिक नेतृत्वले कसरी सम्बोधन गर्लान् त्यो भने प्रतीक्षाको विषय बनेको छ। रासस
प्रतिक्रिया