बिर्तामोड, २७ वैशाख । झापाको शिवसताक्षी–६ झिलझिलेस्थित पशुपति एकेडेमी इङ्लिस स्कूलले भूकम्प पीडितहरुका लागि सहयोग रकम प्रदान गरेको छ ।
पशुपतिले जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्वाङ र सचिव एकराज गिरीलाई २० हजार एक सय ५ रुपैयाँ प्रदान गरेको हो । आज आइतबार विद्यालयका प्रिन्सिपल चन्द्रप्रसाद खनाल र इञ्चार्ज गान्धी लिम्बूले उक्त रकम पत्रकार महासंघलाई हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी योगी नरहरिनाथ स्मृति अन्तर्राष्ट्रिय परिषद् शनिअर्जुनले पनि राहत स्वरुप ८ हजार ५ सय ५ रुपैयाँ प्रदान गरेको छ ।
परिषद्का महासचिव मदन ढकालले पत्रकार महासंघ झापाका अध्यक्ष नेम्वाङ र सचिव गिरीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
भूकम्पका महाविपत्तिका बेला नेपाल पत्रकार महासंघ तथा सञ्चारमाध्यमहरुले राहत तथा उद्धारको लागि खेलेको भूमिकाको सरहाना गर्दै ती संस्थाले पत्रकार महासंघ मार्फत राहत रकम पं्रदान गरेको बताइएको छ । उक्त रकम जिल्ला प्रशासन कार्यालयमा दैवी प्रकोप उद्धार समितिमा जम्मा गरिने पत्रकार महासंघका अध्यक्ष नेम्वाङले बताए ।
यसअघि लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोडले २७ हजार र गोमेन्द्र बहुमुखी महाविद्यालयले २५ हजार रुपैपा राहत रकम पत्रकार महासंघलाई जिम्मा लगाएका छन् । यो संगै पत्रकार महासंघलाई विभिन्न संस्थाले प्रदान गरेको राहत रकम ८० हजार ६ सय १० रुपैया पुगेको छ ।
प्रतिक्रिया