काठमाण्डौ,२२ बैशाख । गैरआवासीय नेपाली संघले उत्तरी भेग बसेरीका भूकम्पपिडीत स्थानीयबासिन्दालाई राहत बितरण गरेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र महासचिव कुमार पन्तसहितको टोलीले सोमबार बसेरी पुगेर गाविस सचिव, स्थानीय समाजसेवी र बिद्यालयका शिक्षकको रोहरबारमा राहत बितरण गर्यो ।
८ सय ६७ घरधुरी रहेको बसेरीमा गैरआवासीय नेपाली संघले सवै घरलाई एक-एकवटा त्रिपाल, कम्बल, चिउरा, चामल, चाउचाउ लगायतका सामाग्री प्रदान गरेको छ ।
गोरखाको सीमा क्षेत्रमा पर्ने यो बिकट गाउँमा भूकम्पबाट लगभग सवैजसो घर भत्किएका छन् । ७ जनाले भूकम्पमा परी ज्यान गुमाए ।
तर, ज्यान गुमाउनको संख्या धेरै नभएका कारण ९ दिनसम्म कतैबाट पनि सहयोग पाउन नसकेको स्थानीयबासीले गुनासो गरेका छन् ।
‘यति दिन भइसक्यो, खाने अन्न छैन, ओत लाग्ने ठाउँ छैन, भूकम्पले भन्दा पनि खान नपाएर मर्ने अबस्था भयो’ स्थानीयबासी सकमाया गुरुङले भनिन् ।
वडा नम्बर ६ का बासिन्दा नारायणबहादुर कार्की भन्छन- ‘मानिसमात्र ७ जना मरेका हुन् तर, ९ वटा वडामा ९ वटा पनि सद्दे घर भेटन सकिन्न, हामी सहनै नसक्ने मारमा पर्यौं ।’
वडा नम्बर दुईका बासिन्दा नन्दबहादुर घले भन्छन-‘हाम्रो पहिलो प्राथमिकता बास हो, त्यसपछि गास हो र अनि ओढ्ने ओछ्याउने हो । कम्तीमा बासचाहिँ सरकारले बनाइदेओस् भन्ने हाम्रो माग हो ।’
राहत बितरणका लागि पुगेका गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बाहिरबाट प्राप्त सहयोग आपसमा मिलेर उपभोग गर्न र थप राहतका लागि अग्रसर हुन सुझाव दिनुभयो ।
‘तपाईहरु यस्तो दुःखमा परेको देख्न र सुन्न नसकेरै हामी आफ्नो खल्तीबाट पैसा झिकेर तपाईका लागि खाना र नाना बाँड्न आएका हौं’ उहाँले भन्नुभयो-‘यस्तो बिपत् सवै मिलेर सामना गर्नुपर्छ, तपाईंहरु पनि स्थानीय तहमा मिलेर प्राप्त सहयोगको सदुपयोग गर्नुहोला ।’
गैरआवासीय नेपाली संघले नेपालका भूकम्पपिडीतलाई आपतकालिन राहतस्वरुप १० करोड रुपैयाँको कोष बनाई बिभिन्न ७ जिल्लामा राहत बितरण अभियान सुरु गरेको थियो । जसअनुसार अहिलेसम्म सिन्धुपाल्चोक, गोर्खा, लम्जुङ, काभ्रे र धादिङमा राहत बितरण भइसकेको छ । पहिलो चरणमा १० हजार परिवारलाई राहत बितरण गर्ने योजनाअनुसार गैरआवासीय नेपाली संघका स्वयंसेवकको सहयोग र सक्रियतामा राहत बितरण कार्य भइरहेको छ ।
प्रतिक्रिया