रामेछापमा पालै खोइ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० बैशाख २०७२, आईतवार ०६:३४
300px-Ramechhap_district_locationरामेछाप ,२० बैशाख । रामेछाप नगरपालिका ६ का शेरवहादुर तामाङ सारीको पाल वनाएर बारीको पाटोमा वसेको ६ दिन भयो ।

पानीले निथ्रुक्क भिजेर वसेका तामाङले भने, ‘खोई सरकारले पाल नै दिएन । पाँच दिनको घाम पानीले सारी फटाउन थालेको छ ।’ उनले थपे, ‘यसले घाम त जसो तसो छलेको छ पानी छलेन ।’
भूकम्पको धक्का पछि उनी सगैं सयौं परिवार वारीको पाटोमा वसेको छ । तर अहिले सम्म सरकारी उद्दार टोली र राहत पुगेको छैन । रामेछाप नगरपालिकाका लागि जिल्ला दैविप्रकोप उद्धार समितिले दिएको ५ सय पाल नगरपालिका कार्यालयमा पुगेको ३ दिन वितेको छ । तर वितरण भएको छैन ।
थोरै पाल भएकाले कसरी वितरण गर्ने भन्नेमा अन्यौल छ । रेडक्रसका जिल्ला उपसभापति ढालविक्रम कार्कीका अनुसार ५ सय पालले एक छेउ पनि नपुग्ने अवस्था छ । गाउं सवै ध्वस्त छन् कसलाई दिनु कसलाई नदिनु ? कार्कीले भने ।
स्थानीय राजनीतिक दलहरु विच विवादले नगरपालिकाले पाल वितरण गर्न नसकेको हो । विवाद समाधान गरी पीडित परिवारलाई पाल वितरणका लागि विहिबार राजनीतिक दल विच सहमति भएपनि शुक्रबार अपरान्ह सम्म राहतको काम थालिएको छैन्ा । सहायक प्रजिअ तिलकराम पोख्रेल विवाद समाधानका लागि रामेछापको छलफलमा पुगेका छन् । तर विवाद सकिएको छैन ।
दलका प्रतिनिधि विच विवाद चुलिदै जादा सर्वसाधारणहरु भने नगरपालिकाको कार्यालय धाईरहेका छन् । ‘एउटा त्रिपाल देला कि भनेर ३ दिन भो,’ नगरपालिका धाएको बाबियाखर्कका केदार घिमिरेले भने – ‘अझै दिएन ।’
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीका अनुसार रामेछापमा हाल सम्म झण्डै ८ हजार ६ सयको हाराहारीमा त्रिपाल आइपुगेको छ । जिल्लामा झण्डै ४० हजार घर परिवारको वसोवास भत्केकोले सवैलाई एक एक थान त्रिपाल पुर्‍याउनुपर्ने वाध्यता छ ।
जिल्ला दैविप्रकोप समितिले गृह मन्त्रालयमा त्रिपालको माग गरिरहेको भएपनि थप त्रिपाल उपलव्ध हुन सकेको छैन । गृहबाट आएको ७ हजार ९ सय, रेडक्रसको ४ सय र भारतिय सेनाको हेलिकप्टरले ल्याएको ३ सय पाल जिल्ल्ााका २ नगरपालिका र ४५ गाविसमा उपलव्ध गराउनका लागि छरछार भएका छन् । ‘कतैपनि पुगेको छैन, सर्वसाधारणमा आक्रोश छ’ डडुवाका पूर्व अध्यक्ष प्रेम लामाले भने । समितिले मन्थली नगरपालिकामा १ हजार ७ सय, रामेछाप नगरपालिकामा ८ सय र ४५ गाविस हरेकमा १ सयका दरले पाल पठाएको छ ।
पहिलो पटक पाल लिएर निस्केको वितरण टोलीलाई ठाउँ ठाउँमा अप्ठेरो परेको छ । बढीभन्दा बढी क्षतिग्रस्त स्थानमा दिनका लागि पनि पाल अभाव भएको वेथानका सचिव कौशल थापाले वताएका छन् ।
एक सय पाल लिएर वेथान पुगेका थापाले तत्काल १ हजार पाल पठाउनु पर्ने अवस्था रहेको टेलिफोन मार्फत जानकारी गराएका छन् ।
ग्रामीण भेगमा जसोतसो खाद्यान्न गुजारा चलाएका पिडितलाई पहिलो चरणमा पाल मात्र पठाउन सकिए मात्र पनि सरकारको उपस्थिति हुने भन्दै प्रजिअ मरासिनीले राहतका लागि सम्पर्कमा आउने सवैलाई पाल उपलव्ध गारउनका लागि याचनानै गरिरहेका छन् ।

अनुगमन टोली नियन्त्रणमा

क्षतिको अवस्था र चाहिने राहत सामाग्रीको आंकलन गर्नका लागि अनुगमनमा निस्केको टोलीलाई मन्थली नगरपालिका ८ सालुका बासिन्दाले नियन्त्रणमा लिएका छन् । टोलीमा पत्रकार, रेडक्रस, राजनीतिक दलका प्रतिनिधि र कार्यालय प्रमुख समेत छन् ।
शुक्रबार मध्यान्ह देखि स्थानीयको नियन्त्रणमा रहेको उक्त टोलीलाई जिल्ला सदरमुकाममा र्फकनका लागि समेत दिईएको छैन । एक हजार पाल दिने घोषणा नभए सम्मका लागि उनिहरुलाई नछोड्ने भन्दै सर्वसाधारणले अनुगमन टोलीलाई घेराउ गरीरहेको छ ।
मन्थली नगरपालिकालाई जिल्ला दैविप्रकोप उद्धार समितिले दिएको १ हजार ७ सय पाल मध्ये ८ नम्बर वडालाई ७५ थान पाल स्थानीय समितिले पठाएको थियो । नगरपालिकाको कार्यकारी अधिकृत संयोजक रहेको उक्त समितिमा राजनीतिक दलका प्रतिनिधि समेतले वडाका लागि पाल भागवण्डा गरेका थिए । क्षतिको आधारमा पाल दोश्रो चरणमा उपलव्ध गराउने आश्वासन जिल्ला स्तरका नेताले दिदा पनि सर्वसधारणले टोलीलाई छोडेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१